वायुप्रदूषण घट्नुको कारण लकडाउन कि मौसम ?
लकडाउनकै कारण विश्वव्यापी रूपमा वायु प्रदूषण घटिरहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि खासगरी काठमाडौं उपत्यकामा लकडाउनकै कारण वायु प्रदूषण घटेको चर्चा चल्ने गरेको छ। तर नेपालमा लकडाउनले भन्दा पनि अन्य कारणले नै प्रदूषण घटेको विज्ञहरू बताउँछन्।काठमाडौं, असार ११ : सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रूपमा महामारीको रूप लियो।
त्यसपछि कोरोना रोकथामका लागि भन्दै लगभग विश्वका सबै राष्ट्रले लकडाउनको घोषणा गरे। अत्यावश्यकबाहेकका यातायातमा लामो समय रोक लगाइयो । त्यतिबेला कलकारखानाहरू पनि पूर्ण रूपमा बन्द गरिए।
कोरोना संक्रमणको पहिलो लहर मत्थर हुँदै जाँदा विश्व साबिकको अवस्थामा फर्किने प्रयासमा थियो। तर संक्रमणको दोस्रो लहरले आएपछि विश्व फेरि आक्रान्त बन्न पुग्यो। धेरै राष्ट्रले पूर्ण र आंशिक रूपमा लकडाउन गरेर संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयास गरे।
लकडाउनकै कारण विश्वव्यापी रूपमा वायु प्रदूषण घटिरहेको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि खासगरी काठमाडौं उपत्यकामा लकडाउनकै कारण वायु प्रदूषण घटेको चर्चा चल्ने गरेको छ। तर नेपालमा लकडाउनले भन्दा पनि अन्य कारणले नै प्रदूषण घटेको विज्ञहरू बताउँछन्।
वातावरणविद् भुषण तुलाधार काठमाडौंमा लकडाउनले केही हदसम्म वायु प्रदूषण कम गर्न मद्दत गरे पनि मुख्य कारणचाहिँ मौसम परिवर्तन नै भएको बताउँछन्। विगतलाई हेर्दा हिउँदयामको तुलनामा मनसुनमा धेरै गुणा कम प्रदूषण हुने गरेको उनको भनाइ छ।
‘अहिले वर्षायाम भएकाले पानी परिरहेको छ। जसले गर्दा हावाको वहन पनि राम्रोसँग भएको छ। वायु प्रदूषण कम हुनुको मुख्य कारण यही हो। लकडाउनकै समयमा वायु प्रदूषण कम हुनु संयोग मात्र हो,’ उनले काठमाडौं प्रेससँग भने।
उनले थपे, ‘तर लकडाउनको समयमा प्रदूषण वृद्धिका लागि मद्दत गर्ने कारखाना, भट्टा, यातायात लगायतका क्षेत्र बन्द भएकाले पनि केही हदसम्म प्रदूषण कम गर्न सहयोग गरेको मान्न सकिन्छ छ। लकडाउन खुकुलो बनाएपछि सवारीसाधन बढी गुड्दा पनि पानी परिरहेकाले प्रदूषण बढ्ने भन्ने हुन्न।’
गत चैत १५ गते (अप्रिल ७) काठमाडौं उपत्यका इतिहासकै सबैभन्दा प्रदूषित दिन थियो। त्यस दिन काठमाडौंमा ‘पिएम २.५’ २७४ र ‘पीएम १०’ १४५ पुगेको एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्यांकले देखाएको थियो। त्यसपछि करिब डेढ महिना काठमाडौंमा वायु प्रदूषण निकै देखिएको थियो।
यस्तै वैशाख ८ गतेसम्म वायु प्रदूषण घटेर ‘पिएम २.५’ ४४ र ‘पिएम १०’ २२ मा झरेको छ। मनसुन सुरु भएपछि बिस्तारै वायु प्रदूषणको मात्रा कम हुँदै असार ६ गते सबैभन्दा कम अर्थात् ‘पिएम २.५’ १४ र ‘पिएम १०’ १३ मा झरेको तथ्यांक छ।
सोही तथ्यांकअनुसार गत वैशाख १६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा जारी गरिएको समयमा ‘पिएम २.५’ ६६ र ‘पिएम १०’ ४१ थियो। करिब डेढ महिनाको निषेधाज्ञाबीच काठमाडौंको पिएम २.५ निरन्तर घटेको एक्युआईको तथ्यांक छ।
काठमाडौंमा हरेक वर्ष जाडो मौसममा वायु प्रदूषण बढ्ने र मनसुनमा घट्ने गरेको तुलाधार बताउँछन्। गत अक्टोवर र जनवरीमा अत्याधिक वायु प्रदूषण बढ्नुको कारण पनि प्रकृति नै रहेको उनले जानकारी दिए।
उनका अनुसार कोरोनाको दोस्रो लहरमा सुरु गरिएको लकडाउनभन्दा अगाडि भने सामान्यभन्दा बढी नै वायु प्रदूषण भएको उनले बताए। जसको प्रमुख कारण देशभर विभिन्न स्थानमा गएको डढेलो भएको उनको भनाइ छ।
‘यसपालिको लकडाउन हुनुअघि देशका विभिन्न स्थानमा विगतको भन्दा धेरै नै डढेलो लागेको हुँदा वायु प्रदूषण धेरै बढेको हो,’ उनले भने, ‘काठमाडौंमा पश्चिमतिरबाट वायु आउँछ र पूर्वतिर जान्छ। हावासँगै बहेर वा वर्षा हुँदा पानीले फ्लस गरेर वायु प्रदूषण कम हुनु प्राकृतिक प्रणाली नै हो। यतिखेर यी दुवैले काम गरेकाले प्रदूषण घटेको हो।’
यस्तै वरिष्ठ मौसमविद् ऋषिराम शर्मा पनि वर्षाको समयमा स्वतः वायु प्रदूषण घट्ने हुँदा विगतको तुलनामा वायु प्रदूषण निकै कम भएको बताउँछन्।
‘पानी पर्दा वायु प्रदूषण लगभग शून्यमै झर्छ। त्यसकारण पनि आकाश सफा हुने, भिजिबिलिटी बढी हुने हुन्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘यसपालिको लकडाउन सुरु भएयता बेलाबेलामा पानी परिरहेको कारण पनि काठमाडौंमा वायु प्रदूषण निकै घटेको हो।’
शर्माका अनुसार ओजोन तह भनेको हाम्रो जमिनको सतहभन्दा करिब ३० किलोमिटर माथिको सतहलाई भनिन्छ। तर हामीले अहिले जमिनभन्दा चार किलोमिटर माथिसम्मको वायुको कुरा गरिरहेका छौँ। त्यसको वायु प्रदूषण घटबढ हुँदा माथिको ओजोन तहलाई खासै असर पार्दैन।
‘सन् १९९० यता कार्बनडाइअक्साइडलगायत अन्य तत्वहरूले ओजोन तहमा प्रभाव पारिरहेको पत्ता लागेपछि त्यस्ता तत्वको उत्पादनमा ह्रास आएको छ,’ उनले भने।