अनलाइन प्रणालीमा नेप्से : निषेधाज्ञाले पनि रोकेन कारोबार
नेपाल स्टक एक्स्चेन्जको कारोबारलाई पूर्ण अनलाइन प्रणालीमा लगिएको प्रभाव यस वर्षको निषेधाज्ञामा स्पष्ट देखियो। गत वर्ष सरकारले नेप्से कारोबार नै बन्द गर्नुपरेको थियो, यस वर्ष निषेधाज्ञामा पनि निर्वाध चल्यो सेयर खरिद–बिक्री।काठमाडौं, असार १० : कोरोना प्रसार रोक्न काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लागू भयो। यातायातका साधन, पसल, निजी र सरकारी कार्यालय तथा सार्वजनिक जीवनका सबै क्षेत्र त्यसलगत्तै ठप्प रहे।
फुर्सदको समयलाई उद्योगी, व्यवसायीले सेयर बजारतिर आफूलाई व्यस्त राखे। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार पनि उकालो लाग्यो। तर, त्यसको कारण उद्योगी, व्यवसायीले आफूलाई सेयर बजारमा व्यस्त राख्नु मात्र थिएन, खासमा नेप्सेलाई पूर्ण रूपमा अनलाइन कारोबारमा लगिएकाले पनि निषेधाज्ञामा सेयर बजारमा निर्वाध गतिविधि सम्भव भएको थियो।
२०७२ सालपछि नेप्से कारोबारमा निरन्तर गिरावट आएको थियो। तर, यस वर्षको निषेधाज्ञामा नेप्सेले आफूलाई उचाइमा लग्यो।
अनलाइन सेयर किन्ने सुविधा, लगानीकर्ताहरूको आकर्षण, बैंकमा ब्याजदर कम हुनुलगायत कारणहरूले नै सेयर बजार उकालो लागेको एक लगानीकर्ता बताउँछन्। ‘०७२ सालमा सेयर बजार १८७१ विन्दुमा पुगेको थियो। त्यसपछि लगभग ४६ महिनाजति लगातार मार्केट ओरालो लाग्यो,’ उनले काठमाडौं प्रेससँग भने, ‘चार वर्षसम्म मार्केट घटेको हुँदा अहिले बढ्ने समय पनि थियो। अहिले सेयर बजार उकालो लाग्नुमा प्रविधिले पनि निकै साथ दिएको छ।’
यस्तै, निषेधाज्ञा सुरु हुनुअघि बैंकको व्याजदर घटेको थियो। बजारमा लगानी गरेबापत आउने नाफाको तुलनामा बैंकमा रकम जम्मा गरेबापत आउने ब्याज कम हुन थालेपछि बढी नाफा कमाउने उद्देश्यले यस क्षेत्रमा लगानीकर्ताहरू बढेको सेयर बजारका जानकारहरू बताउँछन्।
कोरोनाको पहिलो लहरका कारण जारी गरिएको लकडाउनमा करिब एक सय दिन सेयर कारोबार पनि बन्द भएको थियो। यस वर्ष भने निषेधाज्ञाका बावजुद सेयर बजार निर्वाध चल्यो। यसको एक प्रमुख कारण भनेकै लगानीकर्ताले ब्रोकरमा मात्र निर्भर नरही प्रविधिको प्रयोगमार्फत आफैँ सेयर बजारबारे जानकारी लिन, लगानी गर्न र सेयर बिक्री गर्नसकिनेलगायत सुविधा हुनु हो। जानकारहरूका अनुसार विगतमा सेयर बजारबाट एक आर्थिक वर्षमा एक अर्ब २० करोड रुपैयाँ मात्र राजस्व उठेको थियो। यस वर्ष एक महिनामै एक अर्बभन्दा बढी राजस्व उठेको छ।
अनलाइनबाट कसरी कारोबार हुन्छ?
सामान्यतया ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीबाट सेयर बजारमा कारोबार हुने गरेको छ। त्यसअन्तर्गत ब्रोकरले लगानीकर्ताको युजर आईडी बनाएर लगानीकर्तालाई दिन्छ। त्यसअन्तर्गत निश्चित रकम जम्मा गर्नुपर्छ।
युजर आईडी पाइसकेपछि इन्टरनेटको माध्यमबाट सेलको अर्डरलगायत विभिन्न काम गर्न सकिन्छ। यसमा कसले कति सेयर किन्न सक्ने भन्ने निश्चित रकम वा कित्ता तोकिएको हुन्छ।
यो सुविधा उपलब्ध हुनुअघि कुनै पनि लगानीकर्ताले सेयर खरिद र बिक्री गर्न ब्रोकरलाई फोन गर्नुपथ्र्यो या उनीहरूको अफिसमै जानुपथ्र्यो। यसो गर्दा धेरै समय लाग्नुका साथै सेयरमा पनि धेरै परिवर्तन आइसकेको हुन्थ्यो। ‘पहिला कुनै सेयर बेच्न खोज्दा ब्रोकरलाई फोन गर्दासम्म तीन सयबाट घटेर दुई सयमा झरिसकेको हुन्थ्यो,’ सेयर बजारका एक जानकारले भने।
अहिले करिब ६ लाख लगानीकर्ताले टीएमएस लिइसकेका छन्। यस्तै, डिम्याट एकाउन्ट खोल्नेहरूको संख्या ३६ लाखभन्दा बढी छ। डिम्याट खाता खोलेका सबैले सेकेन्डरी मार्केटमा लगानी गर्छन् भन्ने छैन। प्रायः इनिसियल पब्लिक अफरिङ (आईपीओ)मा लगानी गरेका हुन्छन्। सेकेन्डरी मार्केटमा सक्रिय रूपमा लगानी गर्नेहरू भने ८० हजारदेखि एक लाखको हाराहारीमा मात्र रहेको जानकारहरू बताउँछन्।
अहिले सेयर बजारमा सबैभन्दा उच्च विन्दुमा जलविद्युतका सेयर छन्। पहिला ५० रुपैयाँसम्म झरेको सेयर अहिले सात सयभन्दा बढी पुगेको छ। विगत एक महिनादेखि माइक्रो फाइनान्समा भने लगातार गिरावट आएको छ। यस्तै, सेयर बजारमा बैंकहरूको अवस्था भने स्थिर देखिन्छ।
अहिले सेयर मार्केट नै नबुझी अरूले भनेको भरमा सेयर कारोबारमा लाग्नेहरूको संख्या पनि बढेको एक लगानीकर्ताले बताए। ‘लघुवित्त के हो? फाइनान्स कम्पनी के हो? विकास बैंक के हो? भन्ने मात्र होइन, आफूले लगानी गरेको कम्पनीको समेत जानकारी नभएका धेरै लगानीकर्ता छन्,’ उनले भने, ‘नयाँ लगानीकर्ताहरू आएपछि नै पुराना लगानीकर्ताले कमाउने मौका पाउने हो। तर, जानकारीको अभावमा भने नयाँ लगानीकर्ताहरूको लगानी फस्ने सम्भावना बढी रहन्छ।’
आगामी दिनमा भने सरकारले नै सेयर बजारलाई आम्दानीको स्रोतको रूपमा विकास गर्नसके यो क्षेत्रबाट अझै धेरै माथि पुग्न सकिने बुझाइमा लगानीकर्ताहरू देखिन्छन्।
सेयर बजारमा यसरी सुरु भयो अनलाइनको प्रयोग
नेपालमा सन् १९९३ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्थापना भएको हो। सन् २००७ अघिसम्म कुनै पनि सेयर खरिद वा बिक्री गर्दा लगानीकर्ता स्वयं ब्रोकर कहाँ धाउनुपर्ने थियो। त्यसपछि यो बाध्यताको अन्त्य गर्दै प्रविधिलाई प्रयोगमा ल्याई कम्प्युटरबाट सेयर खरिद वा बिक्री गर्न अर्डर दिन मिल्नेसम्म व्यवस्था ल्याएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
उनका अनुसार ०७५ सालदेखि भने सेयर बजार कारोबारमा पूर्ण रूपमा अनलाइनको प्रयोग थालिएको हो। ‘हामीले ०६४ देखि ०७५ साल अघिसम्म पनि सेयर खरिद–बिक्री गर्न म्यानुअल प्रणाली (व्यक्ति स्वयं जानुपर्ने) काम गर्दै आएका थियौँ। त्यसपछि भने प्रविधिलाई प्रयोगमा ल्याई सेयर बजारलाई केही सहज बनाएका छौँ,’ उनले काठमाडौं प्रेससँग भने, ‘हामीले २० कात्तिक ०७५ देखि सेयर किनबेचदेखि क्लियरेन्सलगायत सबै काम अनलाइनमार्फत नै गर्न मिल्ने व्यवस्था लागू गरेका थियौँ।’
यस्तै, कोरोनाको पहिलो लहर सुरु हुनुभन्दा अघिसम्म अनलाइन सेवा प्रयोग गर्नेको संख्या करिब ३८ हजार थियो भने गत वर्षको लकडाउनयता सात लाखभन्दा बढी प्रयोगकर्ता थपिएको पराजुलीले जानकारी दिए।
सेयर कारोबारमा अनलाइनको प्रयोग हुनुअघि लगानीकर्ताले अर्डर गरेको तीनदेखि चार दिनपछि मात्र सेयर खरिद तथा बिक्रीको प्रमाणपत्र आउने गरेको थियो। उक्त प्रमाणपत्र हराउने, च्यातिने डर हुन्थ्यो।
तर, अहिले अनलाइनमार्फत नै सबै काम हुने, सीधै बैंक खातामा रकम जम्मा हुने, आवश्यक सबै कागजात स्वतः प्रयोगकर्ताको युजर आईडीमै जानेलगायत सुविधाका कारण धेरै समस्या समाधान हुनुका साथै अझै सुरक्षित भएको पराजुलीले बताए। यस्तै, आगामी दिनमा सेयर कारोबारमा इन्टरनेटको प्रयोगलाई अझ व्यापक बनाउने र अपडेट गर्दै जाने तयारीमा रहेको उनले बताए।