Kathmandu Press

कसरी आयो मेलम्चीमा नसोचेको बाढी ?

तीन दशकअगाडि मेलम्ची बजार त्यति बाक्लो थिएन । खोलाको छेउछाउमा सानासाना टहरा हुँदै ठुल्ठूला घर बन्न थाले । वेदलालले नगरपालिकाले तोकेको मापदण्ड अनुसार घर बनाएका थिए ।
कसरी आयो मेलम्चीमा नसोचेको बाढी ?

काठमाडौं, असार ९ : मेलम्ची नगरपालिका– ११ का स्थानीय बासिन्दा वेदलाल दुलालको मेलम्ची अस्पतालअगाडि तीन तलाको घर छ । उनको घरलाई बाढीले कहिले भित्ता त, कहिले छेउ हानिरहेको छ ।  

वेदलाल यतिखेर परिवारसहित इश्द्रेश्वरी माविमा बसिरहेका छन् । असार १ गते आएको बाढीले मेलम्ची बजारका खोला छेउछाउका घर पुरिएपछि वेदलालको जस्तै उच्च जोखिममा रहेका घरका परिवार अहिले स्कुलमा बस्दै आइरहेका छन् । वेदलाल बेला बेला आफ्नो घर हेर्न पुग्छन् । ‘घर कतिखेर बाढीमा मिसिने थाहा छैन,’ उनले लामो श्वाससँगै भने ।   

तीन दशकअगाडि मेलम्ची बजार त्यति बाक्लो थिएन । खोलाको छेउछाउमा सानासाना टहरा हुँदै ठुल्ठूला घर बन्न थाले । वेदलालले नगरपालिकाले तोकेको मापदण्ड अनुसार घर बनाएका थिए ।

Hardik ivf

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनाल हिमालदेखि आएका नदी किनारका बस्ती वा संरचना सधैँ जोखिममा हुने बताउँछन् । उनी भन्छन्, ‘हिमाल शिर भएर बग्ने नदीले कुनै न कुनै बेला बाटो बदल्न सक्छ । पहाडको उच्च भागमा हिमताल छन् भने फुट्न सक्छ, जसलाई सहजै नियन्त्रण गर्न सक्ने अवस्था हुँदैन । त्यसैले त्यस्ता ठाउँका नयाँ बस्ती जोखिममा हुन्छन् ।’

उनका अनुसार मेलम्चीभन्दा माथि पहाडको उच्च भागमा ३५ भन्दा बढी हिमताल छन् । त्यसैले तल्लो भेगमा बस्ती बसाउँदा यी हिमतालको पूर्वअनुमान गर्न सकियो भने भौतिक तथा मानवीय क्षति कम गर्न सकिन्छ ।  खोलाले अनुमानित सय वर्षमा आफ्नो पुरानो रूपमा फर्कने पनि सहप्रवक्ता खनाल बताउँछन् । 

मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल यस क्षेत्रमा लामो समयदेखि बाढी आएको थाहा नभएकाले बस्ती बस्न थालेको बताउँछन् । ‘निजी क्षेत्रमा घर बनाउँछु भनेपछि नगरपालिकाले घर बनाउन दिन्न भन्न पाइँदैन । खोलाको छेउछाउमा घर बनाउँदा वाल लगाएर सुरक्षित तरिकाले मात्र बनाउन भनेका  हुन्छौँ,’ उनले भने, ‘कतिपयको त्यहाँबाहेक अन्य स्थानमा जग्गा हुँदैन, त्यसैले खोलाकै छेउमा भए पनि घर बनाउन दिनैपर्छ ।’ 

जोखिममा बस्ती, सरकारी अनुसन्धान छैन 

मेलम्ची बजार मात्र नभई खोलाका किनारमा बसाइएका हजारौँ नयाँ बस्ती जोखिममा छन् । देशभर बाढी, पहिरोबाट कति बस्ती जोखिम छन् भन्नेबारे विस्तृत रूपमा अध्ययन गर्न नसकिएको प्राधिकरणको भनाइ छ । 

सरकारी पक्षबाट केही ठाउँमा अध्ययन भए पनि विस्तृत रुपमा अध्ययन गरी बस्ती बसाउन हुने र नहुने क्षेत्र नतोकिएको प्रवक्ता खनालको भनाइ छ । 

पानीको सुविधा, माछा आदिका कारण मानिसहरु सभ्यताको सुरुवाती कालदेखि नै नदी वा खोला किनारमा बस्ने गरेको पाइन्छ । संसारमा थुप्रै यस्ता नदी छन्, जहाँ मानव सभ्यताको विकास थियो । 

पछिल्लो समय मानिसलाई जग्गा जमिनको कमी र बजारमै बस्नुपर्ने मोहका कारण पनि खोला वा नदी किनारमा घर बनाउने प्रवृत्ति बढेको छ । ‘खोलाको किनारमै बस्नुपर्ने अवस्था आयो भने पहिले पानी आउँदा भाग्न मिल्ने गरी स–साना टहरा बनाएर बस्थे,’ सहप्रवक्ता भन्छन्, ‘अहिले खोलाको किनारमा ठुल्ठूला घर बनाएर बस्न थालेको पाइन्छ ।’

खनालका अनुसार, मेलम्ची बजारमा २०३२ सालमा जिल्लाबाट नापी गएको थियो । त्यतिबेला खोलाका छेउछाउमा बस्दै आएकाले नदीसम्मै जग्गा अतिक्रमण गर्न थाले । ‘खोला नियन्त्रण गरी बस्ती बनाउँदा खोलाको क्षेत्रफल कति थियो भनी अनुमान लगाउन कसैले चाहेनन्,’ सहप्रवक्ता खनाल भन्छन्, ‘खोलाको किनारमा रहेका बस्तीमा बस्नु भनेको खुकुरीको धारमा बस्नुजस्तै हो ।’

विज्ञले नदीको किनारामा बस्ती बस्न नहुने भने पनि त्यसमा नियमन र कडाइ गर्न नसकिएको खनालको भनाइको छ । ‘यसमा व्यक्ति, स्थानीय तह, जिल्ला प्रदेश हुँदै केन्द्रले समेत लापरबाही गरेको छ,’ उनले भने, ‘आँखा अगाडिको दृश्य मात्र हेरिन्छ, भोलि आउन सक्ने जोखिमलाई ध्यान दिइँदैन । त्यसैले विपद्को सिकार भइरहेका छौँ । अध्ययन, अनुसन्धान नगरी बजार बस्न दिएकाले नै मेलम्ची बजार अहिले डुबानमा परेको हो ।’ 

जलवायु परिवर्तन र पाठ

जलाधारविज्ञ मधुकर उपाध्याय यसपालिको मेलम्चीमा आएको बाढी प्राकृतिक प्रकोप भएको र यसबाट पाठ सिक्नुपर्ने बताउँछन् । 

उनका अनुसार, गत वर्षको बाढीपहिरो हेरी यसपालिको फरक देखिन्छ । गत वर्ष धेरै वर्षा भएका कारण डाँडाबाट लेदो बगेर आएर घर पुरिएका थिए । ‘यसपालि मेलम्चीमा आएको बाढी हामी कसैले कल्पना नगरेको विषय हो,’ उनी भन्छन्, ‘कसरी आयो भन्ने सबैलाई थाहा छ । माथिल्लो भेगमा पानी प¥यो, पहिरो गयो, नदी थुनिएर बाढी आयो । जुन ठाउँमा पहिरो गएको छ, त्यहाँ सडक खनिएको पनि होइन, बस्ती भएको ठाउँ पनि होइन ।’ 

अध्ययन गरेरै सुरु गरिएको मेलम्ची आयोजनाले पनि क्षति व्यहोरेको उनको भनाइ छ । मेलम्चीमा बाढी आउनुको कारण उनले जलवायु परिवर्तनलाई देख्छन् ।  ‘पहिले मध्यपहाडी भागमा वर्षा हुन्थ्यो । अहिले उच्च हिमाली क्षेत्रमा मुसलधारे पानी पर्न थालेको छ,’ उनले भने, ‘जुन चिन्ताको विषय छ । उच्च हिमाली क्षेत्रमा पानी कति प¥यो भनी नाप्ने यन्त्र छैन ।’ 

यसकारण अब व्यक्ति स्वयं सतर्क हुनुपर्ने उनी बताउँछन् । अध्ययन, अनुसन्धान नगरी बस्ती बताउँदा पनि मानवीय वा भौतिक क्षति बढी हुन जान्छ । ‘नदी वा खोला जति तल गयो, त्यति धेरै फराकिलो बन्दै गएको हुन्छ । त्यसको बाढीले ओगट्ने भाग हुन्छ । लामो समय बाढी नआएपछि खोलाको भाग अतिक्रमण गरिन्छ, गलत यहीँनेर हुन्छ,’ उनले भने, ‘१०–१५ वर्षसम्म बाढी आएन भने सुरक्षित छ भन्ने लाग्छ । त्यसैले अहिले धेरै नयाँ संरचना खोलाको छेउमा बनेका छन् । जसका कारण भौतिक तथा मानवीय क्षति व्यहोर्नुप¥यो ।’ 

जनस्तरदेखि सरकारी पक्षलाई मौसमको सामान्य जानकारी हुनुपर्ने पनि उनी बताउँछन् । बाढीपहिरोमा वर्षाको भूमिका हुन्छ । मौसमबारे जानकारी भए तयारी गर्न सहज हुने उनको भनाइ छ । ‘यसपालि मानवीय क्षति कम हुनुमा पूर्वजानकारीको भूमिका छ,’ उनले भने, ‘घर, सम्पत्ति र केही संरचना नष्ट भयो । तीन–चार वटा पुल पनि नष्ट भए ।  त्यसैले अब बन्ने पुल उच्च स्थानमा बनाउनुपर्ने देखियो।’ 

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्