फुर्सदका चित्रकार– क्यान्भासमा पर्पल काठमाडौंदेखि प्राकृतिक दृश्यसम्म
निषेधाज्ञाको निराशाजनक समयले पनि कलाकर्मीको सिर्जनशीलताका लागि छेकेन, फुर्सदिलो समयलाई उनीहरूले अवसरका रूपमा लिए ।काठमाडौं, असार ८ : डेढ महिनाभन्दा लामो समयदेखि जारी निषेधाज्ञाका कारण जनजीवन ठप्प रह्यो । तर, निषेधाज्ञाको निराशाजनक समयले पनि कलाकर्मीको सिर्जनशीलताका लागि छेकेन । फुर्सदिलो समयलाई उनीहरूले अवसरका रूपमा लिए ।
तिनैमध्येकी हुन्, कलाकार जया शर्मा । निषेधाज्ञाको फुर्सदिलो समयमा उनले आफ्ना अधुरा चित्र (पेन्टिङ) लाई फाइनल टच दिइन् । ‘हाम्रो पेशा भनेकै कोठाभित्र बसेर काम गर्ने हो। त्यसैले निषेधाज्ञाले खासै असर परेको छैन,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘विगतमा आफ्नो र पारिवारिक काम विशेषले बाहिर जाँदा काम अल्झिन्थ्यो । अहिले पेन्टिङलाई बढी समय दिन सकेकी छु।’
दैनिक तीनदेखि चार घण्टा पेन्टिङका लागि छुट्याउँछिन्, शर्माले । गत वर्षको पहिलो लकडाउनका समयमा भन्दा बढी यस वर्षको निषेधाज्ञामा शर्माले बढी समय दिन सकिन्, चित्रकारितालाई । ‘पहिलो लहरमा कोरोना भनेकै के हो भन्ने थियो । महामारीबारे पूर्ण ज्ञान नहुँदा एक किसिमको डर र त्रासमा बाँच्नुपरेको थियो, जसका कारण पेन्टिङमा फोकस गर्न सकेकी थिइनँ। तर, अहिलेको निषेधाज्ञामा फ्री माइन्डका साथ पेन्टिङहरू बनाएँ,’ उनी भन्छिन् ।
उनका चित्रले समय मानिसको हातमा नभएको भाव बोल्छन् । र, त्यसका लागि कोभिड–१९ महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रूपमा लागू गरिएको लकडाउनको जटिलतालाई आधार बनाएकी छन् ।
‘पोहोर काठमाडौंमा ज्याकारान्डा फुलेको समयमा लकडाउन भएको थियो भने यस वर्ष पनि काठमाडौं पर्पल भएको समयमै लकडाउन भएको हुँदा त्यसैलाई थिम बनाएर घण्टाघरको सिम्बोल राखेर समय लथालिंग भएको दृष्य झल्किने गरी चित्र बनाएकी छु,’ शर्मा भन्छिन्, ‘आगामी दिनमा थप रचनात्मक कलाको लागि फिल्महरू पनि हेर्ने गरेकी छु।’
उनलाई निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रियस्तरको भर्चुअल कला प्रदर्शनीका अफर पनि नआएका होइनन् । तर, चित्रको महत्त्व घट्ने, चित्र वा कन्सेप्ट चोरी हुन सक्नेलगायत समस्याका स्मरण गर्दै उनले अस्वीकार गरिन् ।
वरिष्ठ कलाकार किरण मानन्धरले यस क्षेत्रमै ६ दशकभन्दा लामो समय बिताइसकेका छन् । उनले पनि निषेधाज्ञाको समयलाई आफ्ना पेन्टिङमा बढी ध्यान दिए । र, केही अधुरा पेन्टिङ पूरा गर्ने अवसरका रूपमा सदुपयोग गरे । ‘पहिला विभिन्न कार्यक्रमका लागि निमन्त्रणा आउँथे । कार्यक्रमहरूमा इंगेज हुनुपर्दा पेन्टिङलाई समय दिन सकेको थिइनँ। तर, निषेधाज्ञामा पेन्टिङलाई नै बढीभन्दा बढी समय दिन पाएको छु,’ उनी भन्छन् ।
७२ वर्षीय मानन्धरले ताहाचलस्थित निजी निवासको भुइँतलामा आफ्नो स्टुडियो बनाएका छन्। त्यही स्टुडियोमा उनी दैनिक करिब ६ घण्टा बिताउँछन् । ‘लकडाउनमा साथीहरू बोर लाग्यो भन्छन्। मैले भने लकडाउनका कारण अष्टमातृकादेखि नयाँ कलाको बारे बुझ्ने धेरै मौका पाएँ,’ उनी भन्छन्, ‘लकडाउनकै कारण पेन्टिङलाई बढी समय दिइरहँदा कला के हो भन्ने खोजीलाई निरन्तरता दिएको छु।’
वरिष्ठ कलाकार रागिनी उपाध्याय ‘ग्रेला’ पनि निषेधाज्ञाको समयलाई पूर्ण सदुपयोग गर्दै समय सान्दर्भिक अर्थात् कोभिड–१९ महामारीसँग सम्बन्धित पेन्टिङहरू बनाउन व्यस्त रहेको बताउँछिन्। विशेषतः प्रकृति र प्रेमसँग सम्बन्धित पेन्टिङहरू गर्दै आएकी उनले कोरोनाको पहिलो लहरमा भएको लकडाउनको समयमा भने मास्क लगाएको, भौतिक दूरी कायम गर्ने, सतर्कता अपनाउनेलगायत सन्देशमुलक पेन्टिङ धेरै बनाएकी थिइन् ।
‘अहिलेको तुलनामा पोहोरको लकडाउनमा कोरोनासँग सम्बन्धित अर्थात् डर, त्रासको वातावरण झल्किने, मास्क लगाएको, सतर्कता अपनाउन जनचेतनामुलक सन्देश भएको लगायतका धेरै पेन्टिङ बनाएँ,’ उपाध्याय भन्छिन्, ‘अहिले भने प्रकृतिलाई बढी प्राथमिकतामा राखेर बाढी पहिरोलगायत दृष्य झल्किने पेन्टिङ बनाउँदैछु।’
उपाध्यायका स्वर्गीय बुवाले भन्ने गरेका थिए, ‘समय एकदमै बलवान हुन्छ, यसलाई सदुपयोग गर्नुपर्छ ।’ स्वर्गीय बुवाको यो भनाइ उनको मन मस्तिष्कमा गहिरो प्रेरणाको स्रोत बनेर बसेको छ । र, सधैँ समयको सदुपयोगमा उनी बढी जोड दिन्छिन् ।
दैनिक चारदेखि पाँच घण्टा पेन्टिङमा समय बिताउने उनी भन्छिन्, ‘हाम्रो दिमागलाई सकारात्मक कामहरूमा व्यस्त बनाइराख्नु राम्रो हो। सोहीकारण पनि समय पाउनेबित्तिकै म कि बगैँचामा हुन्छ, कि त पेन्टिङ गरिरहेकी हुन्छु।’
यस्तै, दोस्रो लहरका कारण सुरु भएको निषेधाज्ञाको समयलाई उपाध्यायले किताब लेख्नमा पनि लगाइन् । आफ्नो कला र आफूले विगतमा भोगेका दुःख, वेदनालगायत जीवनका उहापोहलाई समेटेर पुस्तक तयार पार्दैछिन्, उपाध्याय । करिब पाँच महिना भयो, उनले किताब लेख्न थालेको छ । र, छिट्टै प्रकाशनमा ल्याउने तयारीमा छिन् ।