Kathmandu Press

पहिराको डरले गाउँ छाड्दै डौड र बाहुुनसैनवासी

डोटी, जेठ २६ : पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–४ डौड र बाहुनसैन गाउँका नागरिक हिजोआज गाउँ छाड्न बाध्य छन्। जिल्लामा पछिल्लो समय वर्षात् भइरहेका...
पहिराको डरले गाउँ छाड्दै डौड र बाहुुनसैनवासी

डोटी, जेठ २६ : पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–४ डौड र बाहुनसैन गाउँका नागरिक हिजोआज गाउँ छाड्न बाध्य छन्। जिल्लामा पछिल्लो समय वर्षात् भइरहेका कारण गाउँमा पहिरा आउने र बस्ती नै बग्ने डरले उनीहरु गाउँ छाड्न बाध्य भएका हुन्। 

विसं २०७४ साउन २४ गते आएको पहिराले उक्त गाउँका छ व्यक्तिको मृत्यु भएपछि उनीहरु वर्षेनी वर्षात्का समयमा गाउँ छाडेर जङ्गलमा बास बस्दै आएका हुन् । त्यस वर्षको पहिराका कारण गाउँमाथिको डाँडामा चिरा परेका कारण जतिबेला पनि पहिरा आउन सक्ने र गाउँ नै पुरिने खतरा रहेका कारण कम्तीमा पनि ५० घरपरिवार गाउँ छाड्न बाध्य भएको स्थानीयवासी गणेश उपाध्यायले बताए।

Hardik ivf

उक्त दुई गाउँको बस्ती पहिराले जोखिममा रहेकाले मानव बस्ती स्थानान्तरणका लागि पटकपटक माग गरिए पनि कुनै  निकायबाट सम्बोधन हुन नसकेको स्थानीयवासीको आरोप छ। बस्ती स्थानान्तरणका लागि विभिन्न समिति निर्माण गरी अनुगमन गरिए पनि उक्त बस्ती कहाँ र कुन ठाउँमा सार्ने भन्ने विषयमा ठोस निर्णय हुन नसकेका कारण वर्षात्मा गाउँले गाउँ छाडेर जङ्गलमा बास खोज्न जान थालेका अर्का स्थानीयवासी तथा माओवादी नेता तेज डुम्रेलले बताए। 

वर्षात्  सुरु हुनुभन्दा पहिले यहाँका नागरिक आफ्ना लालाबाला र पशुचौपाया लिएर जङ्गलमा बास खोज्न थालेको सबैले जानकारी पाउने गरे पनि त्यसको समाधानका लागि ठोस पहल कहीँ कतैबाट पनि हुन नसकेको सायल–४ दौडका दलबहादुर सिंहले बताए । 

वर्षात्मा गाउँ छाडेर लेकाली क्षेत्रमा रहेका खर्कमा उक्त दुई गाउँका नागरिक जाने गरेका र बर्सात सकिएपछि असोज, कात्तिकतिर गाउँ फर्किने गर्दै आएका छन् । पहिराले गाउँमा बस्न समस्या भएको चार वर्ष बितिसक्दा पनि आफ्ना समस्या कुनै पनि जनप्रतिनिधिले समाधानका लागि पहल नगरेको आरोपसहित त्यहाँका नागरिक आक्रोशित बन्दै आएका छन्। 

वर्षात्का कारण उक्त दुई गाउँका किसानका खेतबारीसमेत बगाएको छ । खेतभरि पूरै ठूल्ठूला ढुङ्गा र बालुवाले भरिएकाले किसानलाई खेती गर्नसमेत समस्या हुँदै आएको स्थानीयवासी तथा सञ्चारकर्मी डिलबहादुर सिंहले बताए । उनले भने, ‘धान, गहुँ लगाउने खेतबारीमा ढुङ्गा र बालुवाले भरिएका छन्, किसानलाई खेती लगाउन पनि समस्या छ ।’ यसैगरी सोही गाउँपालिका वडा नं ३ सार्पे बेटारा गाउँ पनि पहिराको उच्च जोखिममा रहेको बताइएको छ। 

सामान्य वर्षात्  हुँदा पनि माटो भासिएर जाने गरेका कारण गाउँमा रहेका ७० घरधुरीमध्ये ४० घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासी धिरजबहादुर विष्टले बताए। स्थानीय सरकारले अहिलेसम्म उक्त गाउँमा पहिरो रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल चाल्न नसकेको स्थानीयवासीको आरोप छ । गाउँमा रहेका विद्यालय पनि पहिराको उच्च जोखिमा रहेको बताइएको छ । सामान्य बर्सात हुँदा पनि विद्यालयको पढाइ बन्द गर्नुपर्ने अवस्था सिर्जना रहँदै आएको स्थानीयवासी बताउँछन्।

पहिराले जोखिममा रहेका बस्तीका लागि वर्षेनी गाउँपालिकाले रु १५ देखि रु २० लाख बजेट विनियोजन गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष विष्णादेवी सिंहले बताइन्। उनले भनिन्, ‘बस्ती सार्न ठूलो रकम आवश्यक छ, हामीले पहिराले जोखिम रहेका बस्तीमा बर्षेनि पालिकाले सक्ने जति बजेट विनियोजन गर्दै आएका छौँ, केन्द्र तथा प्रदेश सरकारसँग बस्ती स्थानान्तरणका लागि माग गरेका छौँ, माग सुनुवाइ भएको छैन ।’ पहिराको जोखिममा रहेका बस्तीमा भौगोलिक बनावट नै बस्न लायक नभएकाले समस्या समाधानका लागि करोडौँ खर्च लाग्ने र गाउँपालिकाको बजेटले नभ्याउने उपाध्यक्ष सिंहको भनाइ छ। रासस
 

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, जेठ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्