मानसिक स्वास्थ्यमा कोरोना प्रभाव : सम्झने क्षमतामा पनि कमी आउन सक्ने
कोरोना संक्रमणबाट मुक्त भइसकेपछि पनि कसैकसैमा एकोहोरो हुने, स्वभावमा परिवर्तन आउने, कुनै पनि काम गर्न मन नलाग्ने, खुसी नहुने, निरुत्साहित हुने, काम वा कसैको कुरामा ध्यान नजाने, बिर्सिने बानी हुने, झर्को लाग्नेलगायत समस्या केही समयसम्म देखिन सक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका उपप्राध्यापक सन्देश ढकालले बताए।काठमाडौं, जेठ २२ : विश्वभर फैलिएको कोरोना महामारीका कारण धेरै मानिसमा दीर्घकालीन मानसिक समस्या निम्तिन थालेको विज्ञहरू बताउँछन्।
कोरोना संक्रमित मात्र नभई कोरोना बहुआयामिक प्रभावका कारण संक्रमित नभएका मानिसहरूमा समेत मानसिक रोग देखिन थालेको मानसिक रोग विशेषज्ञ तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका उपप्राध्यापक सन्देश ढकाल बताउँछन्।
‘कोभिडका कारण मस्तिष्क स्वास्थ्यमा समस्या निम्तिएर मेमोरी डिस्फंक्सन अर्थात् सम्झने क्षमता कम हुन सक्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘अहिले मान्छे मर्ने या बाँच्ने ठेगान नभएको अवस्था छ। संक्रमणबाट निको भएका मानिसहरूमा अझ यस्तो समस्या बढी नै देखिएको छ।’
यस्तै अहिले कोभिडकै कारण मात्रै मानसिक रोगीहरू बढेको हो वा होइन भन्ने विषयमा विभिन्न अध्ययन भइरहेको उनले बताए। ‘कोभिडकै कारण मानसिक रोगी बढेको रिपोर्ट आएको छैन। तर कोभिडसँग जोडिएका विषयहरू, जस्तै : लकडाउन, आर्थिक संकट, सामाजिक अपहेलनालगायत विभिन्न कुराले भने मानिसको मस्तिष्कमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले भने।
अहिलेको अवस्थामा कोरोना संक्रमित नभएकाहरूलाई कोरोना लाग्यो भने के गर्ने भन्ने डर रहेको र संक्रमित भएकाहरूमा मनोबल कम हुने समस्या देखिएको छ। मानिसहरूले यही कुरालाई बढी प्राथमिकतामा राखी धेरै समय अनेकौं कुरा सोचिरहँदा मस्तिष्कमा धेरै नै असर पार्ने ढकालले बताए।
‘कोरोना लागेपनि त्यसलाई पार लगाउनुपर्छ भन्ने मनोबल उच्च नराख्दा कुनै पनि व्यक्ति संक्रमित हुँदा धेरै नै तनावबाट गुज्रेको हुन्छ। जुन अरू कसैलाई पनि सुनाउन सकेको हुँदैन,’ उनले काठमाडौं प्रेससँग भने, ‘यसले मानिसलाई अति डराउने, आत्तिने वा शुद्धिबुद्धि नै हराउनेसम्म हुन सक्छ।’
यस्तै कोरोना संक्रमणबाट मुक्त भइसकेपछि पनि कसैकसैमा एकोहोरो हुने, स्वभावमा परिवर्तन आउने, कुनै पनि काम गर्न मन नलाग्ने, खुसी नहुने, निरुत्साहित हुने, काम वा कसैको कुरामा ध्यान नजाने, बिर्सिने बानी हुने, झर्को लाग्नेलगायत समस्या केही समयसम्म देखिन सक्ने उनले बताए।
उनका अनुसार यस्ता कुराहरू क्रमशः कम हुँदै जान सक्छ। तर केही व्यक्तिमा भने यस्ता स्वभावहरू बढ्दै जान सक्ने सम्भावना रहेको हुँदा समयमै सम्बन्धित विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ। ‘बिरामी अस्पतालबाट घर फर्किसकेपछि परिवार र छरछिमेकले गर्ने व्यवहार, अरूबाट सुनिने विभिन्न कुरा, वास्तविक–अवास्तविक समाचारलगायत सबै कुराले पनि मानसिक रोगलाई प्रभाव पारेको हुन्छ,’ उनले भने।
तसर्थ बिरामी स्वयंले संक्रमणबाट कसरी मुक्त हुने र परिवार र छरछिमेकले पनि पहिलाकै जस्तो जीवनशैलीमा कसरी फर्काउने भन्ने विषयमा सहयोग गरियो भने खासै समस्या नआउने उनले बताए।
यस्तै महामारी सुरु हुनुअघि नै मानसिक रोगबाट पीडित भएकाहरूलाई अहिले थप समस्यामा पारेको ढकाल बताउँछन्। कुनै पनि मानसिक रोग नभएका व्यक्तिहरूलाई पनि महामारीका कारण निम्तिएको लामो समयसम्मको अनिश्चितता, व्यवसाय खस्कँदो स्थिति, रोजीरोटीमा आएका समस्यालगायतले मानिसलाई असर पारिरहेको उनले बताए।
‘कुनै पनि व्यक्तिले नसोचेको वा अचानक आइपरेको घटनामा चिन्तित हुनु स्वाभाविक हो। तर त्यस परिस्थितिको सामना कसरी गर्ने भन्ने कुरा व्यक्ति स्वयंमा निर्भर हुन्छ,’ उनले भने। उनका अनुसार कोभिडका कारण मानिसहरूमा डिप्रेसन, एन्जाइटीलगायत समस्या देखिएका छन्।
विशेषगरी कोरोनामुक्त भएका, कोरोनाका कारण परिवारका सदस्य गम्भीर अवस्थामा पुगेका वा परिवारका सदस्य नै गुमाएकाहरूमा अझ बढी यस्ता समस्या बढी देखिएका छन्। त्यसैले कोरोना संक्रमण मात्र नभई यससँग जोडिएर आएका धेरै कुराले मानसिक रोग निम्त्याइरहेको हुँदा मनोबल उच्च राख्न जरुरी छ।