तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटीआर-७२ जहाजको परीक्षण उडान
बुद्ध एयरको ७२ सिटे एटीआर-७२ जहाजले शुक्रबार संखुवासभाको तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ ।
काठमाडौं, जेठ २१ : बुद्ध एयरको ७२ सिटे एटीआर-७२ जहाजले शुक्रबार संखुवासभाको तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ ।
यसअघि तुम्लिङटारमा बुद्ध एयरमा एटीआर-४२ र बिचक्राफ्ट जहाज मात्र उडान–अवतरण हुने गरेका थिए ।
एटीआर–७२ जहाजको सफल उडान-अवतरण भएको पहाडी क्षेत्रको यो पहिलो विमानस्थल बनेको छ ।
कोरोना प्रसार घटेर निषेधाज्ञा खुल्नासाथ सोही जहाजबाट तुम्लिङटार विमानस्थलमा सेवा सुरु गर्ने योजना रहेको बुद्ध एयरका कर्मचारी विनोद पोखरेलले जानकारी दिए ।
अहिले एटीआर-४२ जहाजबाट दैनिक एउटा उडान हुँदै आएको थियो । अब एटीआर–७२ बाट दैनिक एउटा उडान गर्ने योजनामा बुद्ध एयर छ । एटीआर-४२ भन्दा अगाडि बिचक्राफ्ट जहाजबाट बुद्ध एयरले उक्त विमानस्थलमा सेवा दिँदै आएको थियो ।
बुद्ध एयरबाहेक यती एयरलाइन्सले पनि तुम्लिङटार विमानस्थलमा दैनिक एउटा उडान गर्दै आएको छ । यतीले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट सेवा दिन्छ ।
ठूलो जहाजको उडानमा भाडा कम हुने भएकाले यात्री प्रशस्त पाइने विश्वास बुद्ध एयरको छ । अहिले काठमाडौं-तुम्लिङटार भाडा पाँच हजार आठ सय छ । अब तीन हजार पाँच सयमा झर्ने विश्वास छ ।
तुम्लिङटार भोजपुर र संखुवासभाका बासिन्दा लागि पायक पर्ने विमानस्थल हो । संखुवासभाका सबै क्षेत्रबाट तुम्लिङटारसम्म सडक पहुँच विस्तार भइसकेको छ । यस्तै, भोजपुरका दिङ्लालगायत क्षेत्रका बासिन्दाको मुख्य बजार पनि हो तुम्लिङटार ।











