माधव नेपालले भने- चुरे दोहन गर्ने जनघाती निर्णय तत्काल सच्याऊ
काठमाडौं, जेठ १९ : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र...
काठमाडौं, जेठ १९ : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने सरकारी योजना जनघाती भएको बताएका छन् ।
नेता नेपालले आज एक बिज्ञप्ति जारी गर्दै सरकारले हालसालै अध्यादेश मार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्यमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना समेटिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै देशहित विपरितको र जनघाती निर्णय तत्काल सच्याउन माग गरेका हुन् ।
‘बजेटमै– ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ, निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने दिने व्यवस्था मिलाएको छु’ भनि लेखेको छ । यो खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो । ’ जारी बिज्ञप्तिमा उल्लेख छ ।
आधा भन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीवन र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर रहेको र त्यहि चुरे मासेर ढुंगा, गिट्टी र वालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने योजना गंभीर रहेको नेपालको ठहर छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै भएको टिप्पणी गर्दै दुरगामी घातको कार्यक्रम फिर्ता लिन चेतावनी दिएका थिए ।











