एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन
काठमाडौं, जेठ १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र लागत सूची सार्वजनिक...
काठमाडौं, जेठ १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कतिपय अस्पतालहरुले कोरोना सङ्क्रमितको उपचारमा चर्को मूल्य असुलेको भन्दै नागरिकको गुनासो वढेपछि स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आउँदो सात दिनभित्र संस्थाले दिने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले कतिपय अस्पतालले अक्सिजनको मूल्य चर्को लिएको, बिरामीलाई अनावश्यक परीक्षण गर्न लगाएको, उपचारमा आवश्यक सामग्रीको व्यवस्थापन गर्न बिरामी आफैँलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको जस्ता गुनासा आएको भन्दै आपत्ति पनि जनाएको छ ।
सेवाको प्रकार, लागत सूची सम्बन्धित संस्थाको वेबसाइटमा राख्न र स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन मन्त्रालयले सबै संस्थालाई निर्देशन दिएको हो ।












