कांग्रेसले चलायो स्वास्थ्य उपकरण मर्मत अभियान
काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसले स्वास्थ्य सामग्री ममर्तका लागि ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ थालेको छ। कोरोना उपचारमा प्रयोग हुने उपकरणहरूको ममर्तमा अस्पताल, स्वास्थ्य...
काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसले स्वास्थ्य सामग्री ममर्तका लागि ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ थालेको छ। कोरोना उपचारमा प्रयोग हुने उपकरणहरूको ममर्तमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने कांग्रेसले अभियान चलाएको हो।
यसका लागि कांग्रेसले बायो मेडिकल इन्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ। उनीहरूले देशभरका अस्पताल, स्थानीय स्वास्थ्य संस्थाहरू वा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या भए निःशुल्क मर्मत गरिदिने छन्।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकूल प्रत्यक्ष अथवा ह्वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि कुनै माध्यमबाट प्रशिक्षित गर्ने व्यवस्थासमेत मिलाइएको छ।
अभियानको नेतृत्व कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको छ भने शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को सहभागितामा देशैभरि बायो मेडिकल इन्जिनियरहरू परिचालित हुनेछन् ।
कोरोनाको उपचारमा जरुरी मेडिकल उपकरणहरूको प्रयोगमा कतिपय ठाउँमा दक्ष जनशक्ति अपुग भएको, कतिपय ठाउँमा उपकरणहरूको प्रयोगमा व्यावहारिक कठिनाइ उत्पन्न भएको र कैयौँ ठाउँमा अत्यावश्यक उपकरणहरूमा खराबी उत्पन्न हुँदा त्यसलाई मर्मत गर्न नसकिएकोजस्ता समाचार र सूचना आएपछि कांग्रेसले यस्तो अभियान थालेको हो ।











