एमाले नेताहरूको याक एन्ड यती वार्ता- तोडिनै लाग्दा एकताको राग
१ जना नेतालाई पार्टीबाटै निष्कासनको निर्णय र थप १२ जना पनि सोही सूचीमा पर्नै लाग्दा सत्तारुढ एमालेका दोस्रो तहका केही नेताले एकताको अभ्यास जारी राखेका छन्। त्यसको पछिल्लो कडी सोमबार राति होटेल याक एन्ड यतीमा भएको वार्ता हो।
काठमाडौं, जेठ १८ : ११ जना नेतालाई पार्टीबाटै निष्कासनको निर्णय र थप १२ जना पनि सोही सूचीमा पर्नै लाग्दा सत्तारुढ एमालेका दोस्रो तहका केही नेताले एकताको अभ्यास जारी राखेका छन्। त्यसको पछिल्लो कडी सोमबार राति होटेल याक एन्ड यतीमा भएको वार्ता हो।
निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, सचिव गोकर्ण बिष्ट र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे वार्तामा सहभागी थिए। अध्यक्ष केपी ओली समूहबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली सहभागी थिए।
नेपाल समूहका एक केन्द्रीय सदस्यका अनुसार पार्टी एकतातर्फ नै सकारात्मक दिशा उक्त वार्ताले तय गरेको छ। पार्टीबाट निष्कासित ११ नेतामाथि भएको कारवाही फिर्ता लिने, २ जेठ ०७५ को सांगठनिक संरचनालाई आधार बनाउने र माओवादी केन्द्रबाट आएका नेताहरूलाई नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट पुनः मनोनित गर्नेलगायत विषयमा सहमति भएको ती केन्द्रीय सदस्यको दाबी छ।
अध्यक्ष ओलीबाट अनुमति लिएरै नेम्वाङ, पौडेल र ज्ञवाली वार्तामा सहभागी भएको हुन सक्ने आकलन नेपाल समूहका नेताहरूको छ। ‘एकतातिरै कुरा अगाडि बढेको हो कि जस्तो छ,’ ती केन्द्रीय सदस्यले काठमाडौं प्रेससँग भने, ‘अध्यक्ष ओली अब एकतामा नआई सुखै छैन।’
उनका अनुसार २ जेठ ०७५ मा फर्किन तयार भएपछि अरू सबै विषयलाई गौण ठान्ने नेपाल समूहको बुझाइ छ। त्यो भनेको माओवादीबाट आएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहलगायत नेताको व्यवस्थापनमा आफ्नातर्फबाट कुनै अवरोध नपुर्याउने नेपाल समूहको सोच देखिन्छ। २ जेठ ०७५ को सांगठनिक संरचना अर्थात् नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीहरू ब्युँताउने कुरामा अध्यक्ष ओलीले सहमति दिए अझै पनि अर्को पार्टी खडा नगर्ने रणनीतिमा नेपाल समूह देखिन्छ।
तथापि, विगतमा जस्तै फेरि अध्यक्ष ओलीले बेवकुफ बनाउन सक्ने कुरामा नेपाल समूहका नेताहरू सतर्क देखिन्छन्। नयाँ पार्टी स्थापना गर्न रोक्ने षडयन्त्रका रूपमा पनि पछिल्लो वार्तालाई शंकाको सुविधा दिन सकिने नेपाल समूहका अर्का केन्द्रीय सदस्य बताउँछन्। ‘हेरौँ अध्यक्ष ओलीको व्यवहार र प्रतिक्रिया कस्तो आउने हो,’ उनी भन्छन्।
आफूहरूलाई बिरालोले मुसा खेलाएझैँ खेलाउँदा अध्यक्ष ओलीकै हरिबिजोग भएको उनको बुझाइ छ। ‘उहाँका १७४ सांसद गुमे, त्यति ठूलो पार्टी (नेकपा)को अध्यक्षको हैसियत गुम्यो, दुई तिहाइ नजिकको सरकार अहिले अल्पमतमा परेको छ। हाम्रोभन्दा बढी दुर्गति त ओलीकै भएको छ, भलै उनले त्यो कुरा बाहिर प्रकट नगरून्,’ उनी भन्छन्, ‘उनी अहिले एमाले पार्टीको अध्यक्ष त छन् तर चौतर्फी रूपमा उनलाई एउटा सीमित गुटको अध्यक्ष मात्र मानिएको छ, कसैले पत्याएका छैनन् उनलाई।’
ओलीको त्यस्तो बठ्याइँको कुनै अर्थ नरहेको उनी बताउँछन्। भन्छन्, ‘यदि उनी बाठा हुन् भने त १७४ सांसद जोगाएर, पहिले नेकपा र अहिले एमाले जोगाएर अगाडि बढेको भए पो बाठो भन्ने। दिनानुदिन नांगेझार बन्दै जाने बठ्याइँले ओलीलाई के दियो त ?’
एमाले सचिव भट्टराई भने पार्टी एकताको सम्भावना अझै कायम रहेको बताउँछन्। उनले सोमबार राति दुई पक्षबीच वार्ता भएको स्वीकारे । ‘२ जेठ ०७५ मा फर्किने कुरामा सैद्धान्तिक हिसाबले सहमति हुन्छ होला,’ भट्टराईले भने, ‘त्यसमा सहमति भयो भने त्यसयता विकसित सबै घटनाक्रम सामान्य हुन जान्छन्। सकारात्मक ढंगले नै संवाद अगाडि बढेको छ।’
संसदीय दलका उपनेता नेम्वाङ पार्टी एकताका लागि छलफल बाक्लो भइरहेको बताउँछन्। ‘मैले अस्ति पनि भनेको थिएँ हामी थाकेका छैनौँ भनेर। हिजो अहिले बाक्लो छलफल भएको छ,’ नेम्वाङ भन्छन्, ‘कहिले औपचारिक, कहिले अनौपचारिक बैठकहरू भइरहेकै छन् । हिजो हामी अनौपचारिक नै बसेका हौँ। तर, अलि सघन छलफल गर्यौँ।’
२ जेठ ०७५ मा फर्किनलाई बाक्लो गृहकार्य भइरहेको उनी बताउँछन्। अब अध्यक्ष ओलीको गाली गलौजयुक्त वक्तव्यबाजी र विज्ञप्ति नआउने उनको दाबी छ। ‘पछिल्लो समय त उहाँलाई त्यस्तो सोच्नु पाप लाग्छ,’ उनी भन्छन्, ‘राति साढे १२ बजेसम्म प्रधानमन्त्री पर्खेर बस्नुभएको थियो, उहाँहरूले माग गरेअनुरसारको भाषा बोलेर ल आउनूस् तपाईंहरू भन्नलाई बस्नुभएको थियो। पार्टी एकताका लागि प्रयास जारी छ।’











