बहुमत न्यायाधीशले अनुरोध गर्दा पनि संवैधानिक इजलासबाट हट्न मानेनन् केसी र श्रेष्ठ
सोमबार संवैधानिक इजलासको रोस्टरमा भएका १३ न्यायाधीशहरुको बैठकमा अधिकांशले इजलासमा प्रश्न आए पनि हट्नु नै उपयुक्त हुने धारणा राखेका थिए।
काठमाडौं, जेठ १७ : सर्वोच्चका एक दर्जन न्यायाधीशहरुले प्रश्न उठेकाले संवैधानिक इजलासबाट आफैँ हट्नु श्रेयष्कर हुने सुझाव दिँदा पनि संवैधानिक इजलासका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले नहट्ने अडान दोहोर्याएका छन्।
सोमबार संवैधानिक इजलासको रोस्टरमा भएका १३ न्यायाधीशहरुको बैठकमा अधिकांशले इजलासमा प्रश्न आएपछि हट्नु नै उपयुक्त हुने धारणा राखेका थिए।
तर केसी र श्रेष्ठले कानुन व्यवसायीहरुले न्यायाधीश छान्न नपाउने भन्दै आफूहरु नहट्ने अड्डी नछाडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा इजलास छाड्न केसी र श्रेष्ठलाई मनाउन नसकेपछि मंगलबार नै कुनै आदेश गरेर अघि बढ्ने धारणा प्रधानन्यायाधीशले राखेका थिए।
सर्वोच्चका वरिष्ठतम न्यायाधीशहरुले न्यायालयको आँचमा कुनै पनि असर नगराउने गरी इजलासमा प्रश्न उठेपछि न्यायाधीशहरु बाहिरिँदा न्यायालयप्रतिको जनआस्था बढ्ने धारणा राखेका थिए। तर १२ न्यायाधीशले सम्झाउँदा पनि उनीहरुले नमानेपछि इजलासबाटै कुनै आदेश गरेर निराकण गर्ने तयारी गरिएको हो।
‘अधिकांश न्यायाधीशहरुले केसी र श्रेष्ठलाई इजलासबाट आफैँ बाहिरिन अनुरोध गर्नुभएको थियो । तर उहाँहरुले आफुहरु कुनै पनि हालतमा इजलासबाट नबाहिरिने भन्दै मान्नुभएन,’ सर्वोच्च स्रोतले भन्यो, ‘अब भोलि कुनै आदेश गरेर यो विषयको निराकरण गर्ने प्रधानन्यायाधीशले बैठकको अन्तिममा भन्नुभएको छ।’











