आगामी वर्ष १०० विद्युतीय बस सञ्चालन गरिने
काठमाडौं, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री बनाउँदै विद्युतीय बस प्रवर्द्धन गर्ने नीति अबलम्बन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार...
काठमाडौं, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधिमैत्री बनाउँदै विद्युतीय बस प्रवर्द्धन गर्ने नीति अबलम्बन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजानिक गरेको आगामी आर्थिक वर्षको आयव्यय वक्तव्यमा यातायात प्रणालीलाई सुरक्षित, विश्वासनीय र प्रविधिमैत्री बनाइने उल्लेख छ। सरकारले विद्युतीय सवारी चालक अनुमति पत्र जारी गर्नेसँगै देशभरमा दर्ता भएका सबै सवारीसाधनमा रेडियो फ्रिक्वेन्सी पहिचानसहित इम्बोस्ड नम्वर प्लेट वितरण गर्ने योजना बनाएको छ।
सार्वजनिक यातायातमा ई–टिकेटिङ लागु गरिने, काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका यातायात विकास प्राधिकरण गठन गरिने वक्तव्यमा उल्लेख छ। सरकारले यातायात सेवाको सञ्चालनमा प्रतिष्पर्धा प्रवर्द्धन गर्नेसँगै यात्रुलाई सुविधायुक्त तथा गुणस्तरिय सेवा दिन व्यवस्थापन गर्ने र विगतमा रहेका यातायात व्यवसायी समितिको स्वामित्वमा रहको अचल सम्पत्ति रुपान्तरित यातायात कम्पनीमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
अर्थमन्त्री पौडेलले सरकारले साझा यातायातमार्फत आगामी आबमा कम्तीमा १०० विद्युतीय बस सञ्चालनको तयारी अघि बढाएको बताउए। काठमाडौँ उपत्यकासँगै बिर्तामोड–झापा, इटहरी–बिराटनगर, ढल्केबर–जनकपुर, पोखरा–दमौलीलगायतका ठूला शहरहरुमा प्रदेश र स्थानीय सरकारको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा प्रोत्साहन गर्ने बजेट वक्तव्यमा उल्लेख छ।
विद्युतीय बसको प्रयोग बढाउन बिभिन्न पूर्वाधारको निर्माणलाई समेत बजेटमा समावेश गरेको छ। आगामी आबमा निजी क्षेत्रसमेतको सहभागीतामा काठमाडौँ उपत्यकासहित देशभरका बिभिन्न स्थानमा पाँच चार्जिङ स्टेशन र टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण गर्ने वजेट वक्तव्यमा उल्लेख छ।
सरकारले खानेपानी तथा सरसफाईमा आगामी आबका लागि ४३ अर्ब ५४ करोड विनियोजन गरेको छ । वजेट वक्तव्यमा सबै नागरिकमा खानेपानीको पहुँच बिस्तार गर्दै गुणस्तरीय खानेपानी उपलब्ध गराइने उल्लेख छ।
अहिले ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । यस्तै, एक घर एक धाराको अवधारणा कार्यन्वयन गरिने, खानेपानीको दीगो व्यवस्थापनका लागि उपभोक्ता समितिको क्षमता बिस्तार गरिने बजेटमा उल्लेख छ।
चालु आबमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकामा सरकारले आगामी आबमा सोही आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आबश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ। हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो।
आगामी आबमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड बिनियोजन गरिएको छ । सरकारले आगामी आबमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ। पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिनेछ।
यस्तै दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइनेछ । सो कामका लागि सरकारले रु चार अर्ब ७९ करोड विनियोजन गरिएको छ।
निर्माणाधीन नदी पथान्तरण आयोजनाबाट तराई–मधेस र भित्रि मधेशका ठूला शहरहरुमा खानेपानी आपूर्ति गर्ने गरी आयोजना विकास गरिने र ग्रामीण क्षेत्र लक्षित खानेपानी आयोजना निर्माण शुरु गर्दा लागतको एक प्रतिशत रकम उपभोक्ताले जम्मा गर्नुपर्ने व्यवस्था खारेज गरेको छ । उपभोक्ता समुहद्वारा सञ्चालित खानेपानी आयोजनामा विद्युत महसुल तथा डिमाण्ड शुल्क पूरै छुटको व्यवस्था गरेको छ।
त्यस्तै, सरकारले आगामी आबमा बिभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न रु तीन अर्ब ६६ करोड बिनियोजन गरेको छ । सहलगानीमा निर्माणाधीन आयोजना सम्पन्न गर्न रु दुई अर्ब ६८ करोड छुट्टाइएको छ।
सङ्घ, प्रदेश र स्थानीय तहद्वारा सञ्चालित आयोजना प्रणाली नियमित मर्मतका लागि ३ अर्ब २९ करोड विनियोजन छ । काठमाडौँ उपत्यकामा र उपत्यका बाहिरका शहरमा ढल प्रशोधन केन्द्र निर्माण अघि बढाउन पनि बजेट वक्तव्यमा उल्लेख छ।











