Kathmandu Press

नेपालले इराकसित आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं, जेठ १५ : नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । सो खेल इराकको बसरास्थित अल्फायहा खेल मैदानमा राति सवा...
नेपालले इराकसित आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं, जेठ १५ : नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । सो खेल इराकको बसरास्थित अल्फायहा खेल मैदानमा राति सवा १० बजे शुरु हुने छ ।

खेल बन्द रंगशालामा खेलाइने छ । कोरोना भाइरसको महामारीका कारण दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली मंगलबार इराक गएको हो ।

विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा इराक ६८औँ तथा नेपाल १७१औँ स्थानमा छन्  । इराकसितको खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका थिए ।

यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । समूह बीमा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चिनियाँ ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जीत तथा चार खेलमा हार बेहोरेको छ ।

नेपाली टोलीका गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फर्वार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।  

प्रकाशित मिति: १९:२० बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्