Kathmandu Press

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत, मंसिर ९ : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन् ।

आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष फुटबलतर्फ आज दुई खेल हुनेछन् । बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो २ः३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल हुनेछन् । बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ः१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग खेल्नेछ ।

महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन् । फुल कोर्टमा बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, थ्री एक्स थ्रीतर्फ दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ ।

टेनिसका खेलहरू बर्दियाको गुलरियामा सञ्चालन हुनेछन् । बिहान ८ः३० बजेदेखि सुरु हुने खेलमा महिला एकल र पुरुष युगल विधाका प्रतिस्पर्धा हुनेछन् । दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी १५ खेलको तालिका रहेको छ ।

पौडीतर्फ आज ११ विधामा प्रतिस्पर्धा हुनेछ । महिला फ्रिस्टाइल ८०० मिटर र पुरुष इन्डिभिजुअल मिडले ४०० मिटरबाट सुरु हुने प्रतिस्पर्धामा महिला तथा पुरुष बटरफ्लाइ ५० मिटर, फ्रिस्टाइल २०० मिटर र ब्याकस्ट्रोक १०० मिटरका खेल हुनेछन् ।

त्यस्तै महिला मिडले रिले ४×१०० मिटर, पुरुष फ्रिस्टाइल रिले ४×२०० मिटर र मिश्रित मिडले रिले ४×५० मिटरमा पनि प्रतिस्पर्धा हुनेछ । पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत सञ्चालन हुनेछन् ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका हुन् ।

कर्णाली प्रदेशमा आयोजना भइरहेको प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: ०८:३१ बजे, बुधबार, मंसिर ९, २०८३