एमालेले सोध्यो सुदूरपश्चिमका ६ मन्त्रीलाई स्पष्टीकरण
धनगढी, जेठ १५ : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार मात्र नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्री गरी छ जनालाई स्पष्टीकरण सोधेको छ...
धनगढी, जेठ १५ : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार मात्र नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्री गरी छ जनालाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो ।
मन्त्रीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ। शुक्रबार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए ।
एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिंदा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।
सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो । बाँकी तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ।











