Kathmandu Press

असफल निषेधाज्ञाः संक्रमणको दर एक महिनाअघिकै अवस्थामा

१५ वैशाखमा चार हजार आठ सय ९७ जना नयाँ संक्रमित देखिएका थिए। १४ जेठमा यो संख्या ६ हजार नौ सय ५१ छ। अर्थात्, एक महिनामा पनि स्थितिमा सुधार आएको छैन।
असफल निषेधाज्ञाः संक्रमणको दर एक महिनाअघिकै अवस्थामा

काठमाडौं, जेठ १५ : कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएको आकलनपछि सरकारले १६ वैशाखदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गर्‍यो। तर, यहीबीचमा कोरोना संक्रमित र मृत्युदर उच्च पाइएको छ।

निषेधाज्ञा सुरु भएयता देशभर कोरोना संक्रमितको संख्या २७ वैशाखमा एकै दिन नौ हजार दुई सय ७१ जनामा कोभिड-१८ पजिटिभ पुष्टि भएको थियो। नेपालमा हालसम्म पाँच लाख ४९ हजार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १५ वैशाखदेखि १४ जेठसम्म मात्र दुई लाख ४४ हजार नौ सय ९५ जना संक्रमित थपिएका छन्।

यस्तै, हालसम्म कोरोनाका कारण सात हजार ४७ जनाको मृत्यु भएको छ। तीमध्ये निषेधाज्ञा जारी भएयता १४ जेठसम्ममा मात्र तीन हजार नौ सय ३८ जनाको मृत्यु भएको छ।

Hardik ivf

निषेधाज्ञा अवधिमै कोरोना मुक्त हुने संख्या पनि उल्लेख्य छ। हालसम्म चार लाख २८ हजार ६ सय ७० जनाले संक्रमण जितेकामध्ये निषेधाज्ञा जारी भएयता एक लाख ५० हजार एक सय ६४ जना कोरोनामुक्त भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कुल संक्रमितमध्ये ७८.०७ प्रतिशत संक्रमणमुक्त भएका छन्। यस्तै, १.२८ प्रतिशतको मृत्यु र २०.६५ प्रतिशत सक्रिय संक्रमित छन्। विगतको तुलनामा निषेधाज्ञा जारी भएयता कोरोना संक्रमित मात्र नभई मृत्यु हुनेको संख्या पनि बढेको तथ्यांकले देखाउँछ।

सरकारले निषेधाज्ञा जारी गर्नु अघिल्लो दिन अर्थात् १५ वैशाखमा चार हजार आठ सय ९७ जना नयाँ संक्रमित थपिएका थिए। निषेधाज्ञा
जारी भएको १२ औँ दिन २७ वैशाखमा नौ हजार दुई सय ७१ जना नयाँ संक्रमित फेला परेका थिए। त्यस दिन परीक्षण गरिएकामध्ये करिब ५० दशमलव ३५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो।

१ वैशाखदेखि ३१ वैशाखसम्म दुई लाख ९८ हजार १६ जनाको कोभिड-१९ परीक्षण गरिएकामा एक लाख २८ हजार चार सय ७८ जनामा पजिटिभ पाइएको थियो। त्यो भनेको कुल परीक्षणको ४३ दशमलव ११ प्रतिशत हो। १४ जेठमा देशभर ६ हजार नौ सय ५१ जना नयाँ संक्रमित थपिए। अर्थात्, निषेधाज्ञा लागू गरिएको एक महिनामा पनि स्थितिमा सुधार आएको छैन। अझ माथिल्लै तहमा छ, संक्रमणको ग्राफ।

असफल निषेधाज्ञा

कोरोना प्रसार रोक्न सरकारले निषेधाज्ञा जारी गरे पनि तथ्यांकबाट त्यसमा सफलता मिलेको नदेखिने विज्ञहरू बताउँछन्। तथापि, विगतको तुलनामा परीक्षणको दायरा बढेकाले पनि संक्रमित र मृतकको संख्या बढेको हुन सक्ने उनीहरूको भनाइ छ।

कोरोना प्रसार रोक्न निषेधाज्ञा मात्र उपाय नरहेको विज्ञहरू बताउँछन्। ‘सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरे पनि संक्रमण घट्नुको साटो उल्टै बढेको हुँदा यसले जनतालाई रोगले नभई भोकले मार्ने अवस्था सृजना भएको छ,’ जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित भन्छन्, ‘अहिले देशभर करिब ४० प्रतिशत मानिस कोरोना संक्रमित भइसकेका छन्। त्यसैले लकडाउन गरेर मात्र कोरोना नियन्त्रण हुँदैन। लकडाउनकै कारण अहिले मानिसहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था सृजना भएको छ, जुन राज्यले गरेको गैरजिम्मेवारीपूर्ण कार्य हो।’

यस्तै, कोरोना संक्रमित क्रमशः घटे पनि जनजीवन पहिलाजस्तै सामान्य हुन समय लाग्ने उनको भनाइ छ। ‘कोरोना भाइरसबाट सबै संक्रमित भएर एकैचोटी कम हुने होइन। संक्रमित भइसकेकाहरू निको हुन समय लाग्छ,’ डा. दीक्षित भन्छन्, ‘नयाँ संक्रमितको संख्या क्रमशः घटेको पनि छ। तर, यति समयमा संक्रमण शून्यमा झर्छ भनेर यकिन गर्न सकिने अवस्था छैन। कोरोना नियन्त्रण हुन एक साता, एक महिना वा एक वर्ष पनि लाग्न सक्छ। त्यसैले निषेधाज्ञा लम्ब्याउनु मात्र समस्याको समाधान होइन।’

उनका अनुसार सरकारले निषेधाज्ञा गरेर मात्र कोरोना नियन्त्रण हुन्छ भनेर सोचेको पाइन्छ। अहिले कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि क्रमशः बढेको हुँदा सरकारले कोरोनाबाट नयाँ संक्रमित हुन रोक्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘त्यसका लागि निषेधाज्ञा मात्र उचित उपाय होइन।’

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला पनि सरकारले कोराना नियन्त्रणका लागि निषेधाज्ञा कायम राख्नुपर्ने अवस्था नरहेको बताउँछन्। निषेधाज्ञा जारी गरेयता कोराना संक्रमितको संख्या झनै बढेर परीक्षण गरेकोमध्ये ५० प्रतिशतसम्म पजिटिभ रिपोर्ट आएको उनी बताउँछन्। भन्छन् ‘एक साता अगाडिसम्म पनि दैनिक नौ हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका थिए भने एकै दिन दुई सयभन्दा बढीको मृत्यु भएको थियो। त्यस हिसाबले पनि निषेधाज्ञा गरिहाल्नुपर्ने थिएन। तर, संक्रमण दर फेरि घटिरहँदा सरकारले निषेधाज्ञालाई थप कडाइका साथ लाने भनिरहेको छ। त्यो जरुरी छैन।’

सरकारले विगतमा निषेधाज्ञा गर्नु केही हदसम्म उपयुक्त पनि भएको उनको तर्क छ। उनका अनुसार दोस्रो लहर सुरु हुनेबित्तिकै लकडाउन नगरेको भए विवाह, जात्रालगायत कार्यक्रमले अझ बढी मानिसमा एकैचोटी संक्रमण फैलाउनसक्ने सम्भावना रहेको उनी बताउँछन्। त्यसका कारण अहिलेभन्दा बढी संक्रमितको मृत्यु हुने सम्भावना हुन्थ्यो। त्यसैले निषेधाज्ञाले केही हदसम्म अस्पताल व्यवस्थापनमा पनि सहयोग पुगेको डा. कोइरालाको ठम्याइ छ।

‘निषेधाज्ञा जारी नगरेको भए अहिले नौ हजारको साटो १५ हजार वा त्यसभन्दा बढी संक्रमित भेटिन्थे होला,’ डा.कोइराला भन्छन्, ‘कोरोनालाई ह्वात्तै बढ्न नदिएर ढिलो फैलियो भने अस्पताललाई बिरामी व्यवस्थापन गर्न सकिन्छ भनेर निषेधाज्ञा गरिएको हो।’ तर, यसबाट मात्र रोगलाई हटाउन नसकिने उनी बताउँछन्।

सरकारले सकेसम्म चाँडै निषेधाज्ञा खुकुलो बनाउनुपर्ने उनको भनाइ छ। एक साताभन्दा बढी निषेधाज्ञामा कडाइ गर्दा जनताले पालना गर्न नसक्ने उनी बताउँछन्। ‘सरकारले अबको एकदेखि दुई साताभित्र निषेधाज्ञालाई केही हदसम्म खुकुलो गर्न जरुरी छ। कतिपय मानिस खाद्यान्न भण्डारण गर्न सक्ने आर्थिक अवस्था नभएकाहरू पनि छन्। धेरै समयसम्म कडाइका साथ निषेधाज्ञा लागू गर्दा उनीहरूलाई जीवन निर्वाह गर्न निकै कठिन हुन्छ,’ डा. कोइराला भन्छन्, ‘त्यसको मतलब एकैचोटी सबै खोल्नु हुँदैन। कोरोनाको पहिलो लहरमा पनि यही गल्ती भएको थियो। तर, अब विस्तारै १-२ वटा गर्दै सबै क्षेत्रलाई चलायमान गर्न जरुरी छ।’ कोरोनाको नयाँ भेरियन्ट फेला पर्ने क्रम बढेकाले सजगता आवश्यक भएको उनी बताउँछन्।

जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्मा अहिले मानिसको आर्थिक अवस्था कमजोर भइसकेकाले निषेधाज्ञा खुल्नेबित्तिकै पहिलाजस्तै भीडभाड बढ्ने र पुनः संक्रमण फैलिन सक्ने सम्भावना औँल्याउँछिन्। विगतमा कोरोनाको पहिलो लहर सकिने क्रममा रहँदा मानिसले जनस्वास्थ्यका मापदण्डको पालना गर्नमा हेलचेक्र्याइँ गरेकाले पनि नयाँ भेरियन्टको रूपमा महामारीको दोस्रो लहर सुरु भएको उनको भनाइ छ।

आगामी दिनमा पनि यस्तै कार्य दाहोरिँदा कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने सम्भावना रहेको उनी बताउँछिन्। त्यसैले सबैले सरकारको मात्र भर नपरी स्वयंले अपनाउनुपर्ने आत्मअनुशासन पालना गर्नुपर्ने डा. शर्मा बताउँछिन्। ‘कोरोना संक्रमितको संख्या विस्तारै घट्ने क्रममा छ। तर, केही समयपछि तेस्रो लहर आउने सम्भावना रहेको हुँदा सबैले सावधानी अपनाउनुपर्छ,’ उनी भन्छिन्।
 

प्रकाशित मिति: १३:१० बजे, शनिबार, जेठ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्