कोरोना संक्रमित अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो
बागलुङ, जेठ १५ : जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन्। धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन्। कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा...
बागलुङ, जेठ १५ : जिल्लामा अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन्। धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन्। कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन सङ्क्रमितको मृत्यु भएको छ। उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको हो। बागलुङमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सक्रिय सङ्क्रमित ९६५ पुगेका छन्।
कोरोनाको गम्भिर लक्षण देखिदा समेत सङ्क्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी मृत्यु भएको देव घिमिरेले बताए। ‘अक्सिजन लेभलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासी बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ,’,. घिमिरेले भने, ‘अक्सिजन लेभल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्यु हुने संभावना बढी देखियो।’
प्रत्येक सङ्क्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा सम्लग्न धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए। ‘केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसकाकारण उसको निमोनिया समेत घटाउन कठिन हुन्छ,’ पोखरेलले भने, ‘केहीले अझै कोरोना लुकाउनुभएको छ, त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही शुरुमै अस्पताल आएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण मृत्यु भएको पाइएको छ।’
डा. पोखरेलका अनुसार सङ्क्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्पर्कमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वास्प्रस्वासको विषयमा जानकारी लिने, स्वस्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुँनेछ। घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ।
शुक्रबार दुईको धौलागिरी अस्पताल र एकको ढोरपाटन कोरोना अस्पातलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ। यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको मृत्यु भएको हो। बिहीबार बडिगाडमा कोरोना शंकास्पद पुरुषको समेत अस्पताल आउनासाथ मृत्यु भएको थियो। (रासस)




-1790252522.jpg)




-1790252522.jpg)

