कोपा अमेरिका : उरुग्वे र जापानबीचको खेल बराबर
पोर्टो अलेग्री, असार ६ : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत नेपाली समयअनुसार आज बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको ख....

पोर्टो अलेग्री, असार ६ : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत नेपाली समयअनुसार आज बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल बराबरीमा टुंगिएको छ।
खेलमा जापानका तर्फबाट पहिलो गोल भएको थियो। विश्व फुटबलमा निकै शक्तिशाली मानिएको उरुग्वेविरुद्ध जापानका कोजी मियोशीले २५औं मिनेटमा पहिलो गोल गरेका थिए।
तर सात मिनेटपछि नै उरुग्वेका फर्वार्ड एडिन्सन काभानीलाई डिबक्सभित्र लडाएका कारण उरुग्वेले एउटा विवादास्पद पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई लुइस सुवारेजले गोलमा परिणत गरेका थिए।
निकै राम्रो खेल कौशल देखाएको जापानका तर्फबाट ५९औं मिनेटमा फेरि मियोशीले दोस्रो गोल गरेका थिए दुर्भाग्य, फेरि सात मिनेटभित्रै उरुग्वेले दोस्रो गोल गरी खेल दुई–दुईको बराबरीमा ल्याएको थियो।
उरुग्वेका लागि दोस्रो गोल जोजे गिमेनेजले गरेका थिए।
दुवै टिमले गोल गर्ने निकै राम्रा अवसरहरू बनाएका थिए तर, कुनै पनि टिमबाट थप गोल हुन सकेन।
अंक तालिकामा समूह ‘ग’ मा उरुग्वे चार अंक सहित सबैभन्दा माथि छ। सोमबार उरुग्वे र चिलीबीच खेल हुनेछ। जापानको अन्तिम खेल इक्वेडरसँग हुनेछ।











