सरकारको प्राथमिकता महामारी व्यवस्थापन नभई सत्तामा टिक्ने मात्र : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको ध्यान जनताका पीरमर्काभन्दा जसरी पनि सत्तामा टिकिरहने मात्र देखिएको बताएका छन्।
काठमाडौं, जेठ १३ : कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको ध्यान जनताका पीरमर्काभन्दा जसरी पनि सत्तामा टिकिरहने मात्र देखिएको बताएका छन्।
बिहीबार विज्ञप्ति प्रकाशित गर्दै देउवाले भनेका छन्, ‘सरकारको नेतृत्वको सम्पूर्ण ध्यान जसरी पनि सरकारमा टिकिरहनुपर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पीरमर्काहरू गौण हुन पुगेका छन्। अहिले कोभिड-१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौति मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको बेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ।’
वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको उनले बताएका छन्। संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिन सरकार उद्यत रहेको उल्लेख गर्दै देउवाले सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरू नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गरेका छन्।
‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड-१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरूलाई राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गर्दछु।’
६ जेठमा आफ्नो नेतृत्वमा कांग्रेसको प्रतिनिधिमण्डलले कोभिड-१९ महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन-पत्र प्रधानमन्त्रीलाई बुझाउँदै गम्भीर ध्यानाकर्षण गराएको उनले उल्लेख गरेका छन्।
‘कांग्रेस आफैँ पनि कोभिड-१९ को रोकथाम र उपचारमा जनताका पीडालाई कम गर्न सक्रियताका साथ लागिपरेको छ। तर, देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम नेपाली कांग्रेसले गर्न सक्ने कुरा भएन,’ उनले भनेका छन्, ‘संक्रमणको लहर सहरबाट ग्रामीण र दुर्गम क्षेत्रमा समेत फैलिएको छ। स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था र सरकारको उदासिनताका कारण ग्रामीण क्षेत्रमा उपचार नभएर हाहाकार मच्चिएको छ।’
देशैभर खासगरी अस्पताल पहुँचको सीमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको सहारा लिएको तर निषेधाज्ञाको असर पनि हचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन नसकेको देउवाले बताएका छन्।
‘संक्रमण फैलिन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्ने हो,’ देउवाले भनेका छन्, ‘तर, निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदैछ। कोभिड-१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रूपमा प्रयोग गर्दैछ।’
कोभिड-१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयु बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न देउवाले माग गरेका छन्।
यस्तै, हरेक गाउँ-नगरपालिका र वडा तहसम्म पीसीआर परीक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान सञ्चालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरूलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यावहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ-संस्थाहरूबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न उनले माग गरेका छन्। ‘खोपलगायत स्वास्थ्य सामग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरूसँग माग गर्दछु,’ देउवाले भनेका छन्।




-1790252522.jpg)




-1790252522.jpg)

