Kathmandu Press

निषेधाज्ञाभरि खाद्य संस्थान र साल्ट ट्रेडिङले घरघरमै खाद्य सामग्री लगिदिने

निषेधाज्ञाभरि खाद्य संस्थान र साल्ट ट्रेडिङले घरघरमै खाद्य सामग्री लगिदिने

काठमाडौं, जेठ ३ : कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन भन्दै काठमाडौं उपत्यका प्रशासनले भोलि (जेठ १४) बाट थपिने निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोरसमेत बन्द गर्न निर्देशन दिएको छ।

प्रशासनले संक्रमण नफैलियोस् भनेर भिडभाड कम गर्न त्यस्तो नीति लिएको बताए पनि आम नागरिकबाट सो निर्णयको चर्को विरोध हुँदै आएको छ। 

प्रशासनले आफूले गरिसकेको निर्णय फिर्ता लिनेभन्दा पनि त्यसलाई नयाँ तरिकाबाट सहजीकरण गर्ने उपाय अपनाएको छ। अर्थात् निषेधाज्ञाबीच कसैलाई कसैलाई खाद्य सामग्री अभाव भए वैकल्पिक व्यवस्था गरिएको छ।

उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री घरमै मगाउन सक्ने व्यवस्था गरेको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) एक सूचना जारी गरेर आवश्यक सामग्री मगाउन कम्पनीका आधिकारिक व्यक्तिहरूको फोन नम्बर सार्वजनिक गरेको छ।

नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरघरमै लैजाने व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ। खाद्य संस्थान, साल्ट ट्रेडिङ, उपभोक्ता हित संरक्षण मञ्च र व्यवसायीसमेतको बैठकबाट यस्तो निर्णय गरेको काठमाडौं प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्