Kathmandu Press

संविधानमाथि हस्तक्षेप भयो त्यसैले अदालत गयौं : देउवा

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमाथि हस्तक्षेप भएको र राजनीतिक संकट आइपरेकोले आफू अदालत गएको बताएका छन् । नेपाल प्रेस...
संविधानमाथि हस्तक्षेप भयो त्यसैले अदालत गयौं : देउवा

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमाथि हस्तक्षेप भएको र राजनीतिक संकट आइपरेकोले आफू अदालत गएको बताएका छन् । नेपाल प्रेस युनियनका ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै राष्ट्रपतिबाट असंवैधानिक काम भएकाले आफुहरु सर्वोच्च अदालत गएको बताएका हुन् । 

‘प्रधानमन्त्रीले भन्दैमा राष्ट्रपतिले असंवैधानिक काम गर्नुहुँदैन । हामी विरोध गर्दै सर्वोच्च गएका छौँ । सर्वोच्च अदालतले संविधान अनुसार फैसला गर्नेछ,’ भर्चुअल कार्यक्रममा बोल्दै देउवाले भने । 

गत शुक्रबार देउवा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न राष्ट्रपति कार्यालय गएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री दावीसहित गएका थिए। दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको र आफूलाई बहुमत सांसदको समर्थन हुँदा पनि प्रधानमन्त्री नियुक्त नगरेकोमा देउवा सर्वोच्चमा गएका थिए।

संविधानको धारा ७६ को ५ अनुसार १४९ सांसदको हस्ताक्षर आफूले राष्ट्रपतिकहाँ बुझाए पनि कुनै भेरिफाइ नगरी राष्ट्रपतिले सरकारको सिफारिसमा मध्यरातमा प्रतिनिधि सभा विघटन गरेको देउवाको भनाइ छ।

‘हामी संविधानको धारा ७६ को ५ अनुसार सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको हो,’ देउवाले भने, ‘यो निर्दलीय अभ्यास होइन। संविधानकै धाराअनुसार हो। निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने छ।’

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, जेठ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्