काठमाडौं फेरि देखियो बर्डफ्लू

काठमाडौं, जेठ १३ : काठमाडौंमा फेरि बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
पशु सेवा विभागले सूचना जारी गरि कीर्तिपुर नगरपालिका वडा नंं ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ का कृषकले पालेका कुखुरा, हाँस र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको जनाएको छ। बर्डफ्लूको संक्रमण पुष्टि भएपछि तीनै क्षेत्रका पंक्षी नष्ट गरिएको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए।
बर्डफ्लू देखिएको क्षेत्रका पाँच सय ३५ टर्की, चार सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० वटा हाँस, एक सय ७८ वटा अण्डा र नौ सय केजी दाना नष्ट गरिएको उनले बताए। बर्डफ्लू नियन्त्रण तथा रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहका पशुसँग सम्बन्धित निकाय परिचालन गरिएको ढकालले बताए।
टर्की मरेको सूचना पाएपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षण गर्दा बर्डफ्लूको संक्रमण पुष्टि भएको विभागले जनाएको छ।
यसअघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु, सुर्खेत, जाजरकोट लगायत क्षेत्रमा बर्डफ्लू देखिएको थियो।




-1790252522.jpg)




-1790252522.jpg)

