Kathmandu Press

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच फोनवार्ता : १० लाख डोज खोप दिने सीको प्रतिबद्धता

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पनि ट्विटरमार्फत चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको उल्लेख गरेकी छन्।
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच फोनवार्ता : १० लाख डोज खोप दिने सीको प्रतिबद्धता

काठमाडौं, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी छन्। भण्डारी र चिनफिङबीच आज (बुधबार) दिउँसो  झन्डै पौने घन्टा कुराकानी भएको थियो।

राष्ट्रपति भण्डारीको सचिवालयका अनुसार कुराकानीका क्रममा सबै नेपालीलाई पुग्ने कोरोनाविरुद्धको खोप चीनबाटै किन्न इच्छुक रहेकाले पहल गरिदिन अनुरोध चिनफिङलाई गरिएको थियो। 

राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्रराष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने जबाफ दिएका थिए। सोही क्रममा उनले नेपाललाई १० लाख डोज खोप अनुदान दिने प्रतिबद्धता गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पनि ट्विटरमार्फत चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको उल्लेख गरेकी छन्।

दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि पहल गरेका थिए।

चीनले केही समयअघि नेपाललाई कोरोनाभाइरसविरूद्धको खोप ‘भेरोसेल’ ८ लाख डोज अनुदानमा दिएको थियो। अहिले उक्त खोपको दोस्रो डोज लगाउने क्रम जारी छ। 

मंगलबार मात्रै भारतीय समकक्षी रामनाथ कोविन्दलाई यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिँदै पत्र पठाएकी थिइन्। 

नेपालले १० लाख डोज खोप खोप किन्न मार्चमा सेरमलाई रकम तिरिसकेको छ। राष्ट्रपतिले पत्रमार्फत त्यही खोप र थप खोप पठाउने पहल गरिदिन कोविन्दलाई आग्रह गरेकी हुन्।

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, जेठ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्