जनतामा आतंक फैलाएर सरकार राजनीतिक स्वार्थ सिद्धिमा लाग्यो : कांग्रेस
काठमाडौं, जेठ १२ : नेपाली कांगे्रसले सरकार कोरोना महामारी नियन्त्रणमा लाग्नुको सट्टा जनतालाई आतंकित बनाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नतर्फ उन्मुख भएको आरोप...
काठमाडौं, जेठ १२ : नेपाली कांगे्रसले सरकार कोरोना महामारी नियन्त्रणमा लाग्नुको सट्टा जनतालाई आतंकित बनाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नतर्फ उन्मुख भएको आरोप लगाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले पछिल्लो राजनीतिक घटनाबार छलफल गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध थालिएको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष पनि निकालेको छ।
बैठकबारे जानकारी दिँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अबको राजनीतिक र न्यायिक लडाइँ लड्न तत्कालका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गर्ने निर्णय बैठकले गरेको जानकारी दिए। कोरोना संक्रमणको तीव्र प्रसार भइरहेका बेला तत्काल सडक आन्दोलनमा भने नउत्रिने बैठकको निर्णय रहेको उनको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा भइरहेको षड्यन्त्रमूलक असंवैधानिक कदमको सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई सुसूचित गराई बहसको वातावरण सिर्जना गर्ने र त्यस्ता गलत गतिविधिको भण्डाफेर गर्ने बताए।
अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँहरूमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नेतिर भन्दा पनि एकातिर जनतालाई दुई दिनमै किनमेल गर भनेर आतंक फैलाउने र अर्कातिर राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिस सरकारबाट भइरहेको उनको भनाइ थियो।
‘महामारीमा जनताको दैनिकी असहज भइरहेको छ । यस्तो बेला सहयोगी भूमिका निर्वाह गर्नु त कता हो कता, जनअधिकारलाई नै निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउनेतर्फ सरकार केन्द्रित भएको विश्लेषण गर्दै बैठकले त्यस कार्यको निन्दा एवं भर्त्सना गरेको छ,’ नेता महतले भने।
केही दिनअघि मात्र कांग्रेस सभापति देउवाले कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउन राहतलगायत व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाइसकेका छन्।




-1790252522.jpg)




-1790252522.jpg)

