प्रदेश-२ मा कांग्रेस र माओवादीको समर्थनमा सरकार पुनर्गठनको तयारी
जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई प्रदेश-२ सरकारबाट विदा गर्दै कांग्रेस र माओवादी केन्द्रको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी सुरु भएको छ।
काठमाडौं, जेठ ११ : संघीय संसद्को चौथो ठूलो दल जसपा विभाजनको बाटोमा अगाडि बढेको प्रभाव प्रदेश-२ सरकारमा देखिन थालेको छ। जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई सरकारबाट विदा गर्दै कांग्रेस र माओवादी केन्द्रको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी सुरु भएको छ।
एक सय चार सदस्यीय प्रदेशसभामा जसपाका मात्र ५५ जना सांसद छन्। तीमध्ये ३२ जना उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहमा खुलेका छन्। बाँकी २३ जनामध्ये पनि केहीलाई आफ्नो पक्षमा तान्ने कसरतमा उपेन्द्र-बाबुराम समूह छ।
यस्तै, कांग्रेसका १९ र माओवादी केन्द्रका आठ सांसद छन्। जसपाको महन्थ-राजेन्द्र समूहलाई सरकारबाट विदा गर्दा कांग्रेस र माओवादीका २७ सांसदले प्रदेश सरकारलाई भरथेग गर्ने छन्। प्रदेशसभामा बहुमत सिद्ध गर्न ५३ सांसद भए पुग्छ। यस्तै, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन्, उक्त प्रदेशसभामा। उनको समर्थन पनि मुख्यमन्त्री लालबाबु राउतलाई नै छ। कांग्रेस, माओवादी र अन्सारी नेतृत्वको पार्टीको समर्थन हुँदा ६० सांसद जुट्ने निश्चित भइसकेको छ।
त्यो भनेको प्रदेशसभामा बहाल सांसदको ५७ दशमलव ६९ प्रतिशत हो।
‘जसपाका थप सांसद हामीतिर आउने सम्भावना बढेको छ,’ जसपाका एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले काठमाडौं प्रेससँग भने, ‘एमालेको माधव नेपाल पक्षले पनि साथ दिने सम्भावना छ। त्यसैले प्रदेश सरकार बलियो बन्दैछ।’
प्रदेशसभामा एमालेका २१ सांसद छन्। तीमध्ये १३ सांसद माधव पक्षमा खुलेका छन्। उनीहरूले ओलीपक्षीय सत्यनारायण मण्डललाई संसदीय दलका नेताबाट हटाएर माधवपक्षीय शत्रुधन महतोलाई चयन गरिसकेका छन्। तथापि, अन्य दलबाटै बहुमत जुट्ने भएपछि एमालेको माधव नेपाल समूहको समर्थन आवश्यक पर्ने छैन।
यसअघि मुख्यमन्त्री राउतको पक्षमा जसपाका ३० सांसद थिए। तर, महन्थ-राजेन्द्रको कोटाका सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेशराय यादव कित्ता परिवर्तन गरी उपेन्द्र-बाबुराम समूहमा प्रवेश गरिसकेका छन्। दुवै मन्त्री बाबुराम-उपेन्द्र पक्षीय कार्यकारिणी समिति बैठकमा पनि सहभागी भएका छन्।
अब प्रदेश-२ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र अन्य तीन राज्यमन्त्री मात्र महन्थ-राजेन्द्र समूहका हुन्। सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल महन्थ-राजेन्द्र समूहका हुन्। ‘उनीहरू चारैजनालाई मन्त्रिमण्डलबाट हटाउने तयारी छ,’ उपेन्द्र-बाबुराम समूहका एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने, ‘त्यसपछि प्रदेश सरकार सुरक्षित हुनेछ।’




-1790252522.jpg)




-1790252522.jpg)

