रुकुम हत्याकाण्ड: सर्वोच्च धाउँदा पनि एक वर्षसम्म न्याय मिलेन
जाजरकोट, जेठ ११ : गत वर्ष आजकै दिन जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँमा हत्या गरिएको थियो।...
जाजरकोट, जेठ ११ : गत वर्ष जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँमा हत्या गरिएको थियो। यस घटनाको एक वर्ष पुग्दा पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन्।
एक वर्ष बिते पनि न्याय नपाउँदा पीडित परिवारजन अझै पनि शान्तसँग बस्न सकेका छैनन्। उक्त घटनामा १२ जना घाइते भएका थिए। जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका छन्।
घटनामाथि परेको मुद्दा सुनुवाइ गर्न ढिलाइ हुँदा न्याय नपाउने आशंका पैदा भएको मृतक नवराजका बुवा मुनलालले बताए।
नवराजका साथै अन्य मृतक सञ्जु विक, गणेश बुढा र लोकेन्द्र सुनारका बुवाआमाले छोराहरूका सम्झनामा लाखबत्ती बालेर पूजा गरेका छन्। हत्यामा संलग्न अभियुक्त ३४ जनालाई जन्मकैद नहुँदासम्म छोराको आत्माले शान्ति नपाउने मुनलालले बताए।
पीडित परिवारका सदस्यले न्यायका लागि आफूहरू चारचार पटक रुकुम जिल्ला र उच्च अदालत सुर्खेत तथा दुई पटक सर्वोच्च अदालत पुगेको बताएका छन्। उनीहरूले घटनाको मुख्य योजनाकार भनिएका प्रकाश मल्लसहित ११ जना छुट्दा न्याय मरेको अनुभूति भएको मुनलालले गुनासो गरे।
सोती काण्डमा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम (पश्चिम)मा मुद्दा दायर भएको थियो। तीमध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन्।
अदालतले शुरु थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी युवतीकी आमालाई एक लाख धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो। बाल सुधारगृहमा रहेकी युवतीलाई उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो।
त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढालाई पनि साधारण तारिखमै छाडेको थियो। हत्यामा संग्लग्न व्यक्तिहरू अदालतमा एकपछि अर्को छुट्न थालेपछि न्याय पाउने आशासमेत मरेको मृतक सञ्जुका बुवा बलराम विकले गुनासो गरे। (रासस)




-1790252522.jpg)




-1790252522.jpg)

