मध्यावधि निर्वाचन फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुको अपिल
काठमाडौं, जेठ ९ : सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अबिलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपिल गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले मध्यावधि निर्वाचन...
काठमाडौं, जेठ ९ : सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अबिलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपिल गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले मध्यावधि निर्वाचन फिर्ता लिन सरकारसँग अपिल गरेका हुन्।
डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा. अरुणा उप्रेती डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बीसी र डा. कृष्णमान शाक्यले संयुक्त विज्ञप्तिमा जारी गर्दै प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणाले आफूहरु चिन्तित र मर्माहित भएको उल्लेख गरेका छन्।
‘अस्पतालको शय्या नपाएर कोभिडका बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यक औषधि र अक्सिजन नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा–गर्दै पनि अस्पतालको शय्यामा बिरामीहरुले ज्यान गुमाउनु परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो मार्मिक घडीमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो ।’
घोषित निर्वाचनमा देशमा भएको सीमित स्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने स्रोतमा कटौती भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनुपर्ने र असीम पीडा भोग्न बाध्य हुनुपर्ने अवस्थाप्रति उनीहरुले चेतावनी पनि दिएका छन् ।
‘यो क्षम्य हुँदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौं । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन हामी माग गर्दछौं र नागरिकको स्वास्थ्य सुरक्षाप्रति सम्वेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।




-1790252522.jpg)




-1790252522.jpg)

