Kathmandu Press

युगकविको सम्झना गरिँदै

काठमाडौं, जेठ ९ : युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ। विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म...
युगकविको सम्झना गरिँदै

काठमाडौं, जेठ ९ : युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ। विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ।

सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ। यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर  छ।  

Hardik ivf

युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन्। युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं  डिसीको अभिनय छ।

कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले जानकारी दिए। युगकविको परिवारले काठमाडौंको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ।

विगत वर्षमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभासमारोह राखिएका छैनन्। सिद्धिचरण सङ्ग्रहालय समिति र स्थानीय साहित्यिक व्यक्तिले आआफ्नै किसिमले युगकविलाई सम्झिएको समितिका ध्रुवकुमार राजभण्डारीले बताए। 

युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनी नेपाल भाषामा कविरत्नका रुपमा पनि  चिनिन्थे। उनले आफ्नो जीवनको साढे छ दशक  साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए। 

उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन्। उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन्। 

युगकविको २०४९ साल जेठ २२ गते निधन भएको थियो। 
 

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्