शेयर बजारमा अन्योलता कायमै, कहिले होला बाउन्स?
काठमाडौं, असार ४ : हिजो जस्तै आज पनि दोस्रो बजार निकै सुस्त रह्यो। आज दिनभरमा ३० करोड ४१ लाख बराबरको शेयर किनबेच भएकोमा १ करोड ५० लाख बराबर....
काठमाडौं, असार ४ : हिजो जस्तै आज पनि दोस्रो बजार निकै सुस्त रह्यो। आज दिनभरमा ३० करोड ४१ लाख बराबरको शेयर किनबेच भएकोमा १ करोड ५० लाख बराबरको नेपाल इन्भेष्टमेन्टको संस्थापक शेयर कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबार दिन भन्दा घटेको छ।
साताको चौथोे कारोबार दिन बुधबार नेप्से परिसूचक ० दशमलव २० को सामान्य अंकले घटेर १२५८ दशमलव ४६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०२ प्रतिशतकोे गिरावट देखिएको छ।
दोस्रो बजार १२५८ दशमलव ०७ को विन्दुमा खुलेको थियो भने १२६२ दशमलव १२ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२५६ दशमलव ७२ थियो।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको शेयर किनबेच भएको छ। एनआईसी एसिया बैंकको २ करोड १७ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज मल्टी पर्पस फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ६९ प्रतिशतले कमाए। ८६५ प्रतिशत हकप्रद प्रयोजनार्थ बुक क्लोज नजिकिँदै गएको अवस्थामा आज कम्पनीको शेयर मुल्यमा खरिद चाप अत्यधिक देखिएको थियो। घलेम्दी हाइड्रोका शेयरधनीले सर्वाधिक ३ दशमलव ५७ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा १२५४ देखि १२५८ मा रहेको भनिएको थियो। आज बजारले यही क्षेत्रमा टेवा लिएको छ। आज बजार १२५८ दशमलव ६६ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि प्रवृत्तिहीन रहेको बजार हाल घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारको उतारचढाव कम रहेको र अझै पनि लगानीकर्ताहरु अन्योलमा रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। बजार सामान्य रुपमा घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज नेप्सेको प्रवृत्ति ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। यो ईएमए हाल प्रतिरोधको रुपमा रहेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५० दशमलव ८७ अंकमा रहेको छ।
कारोबारको अन्तिम समयमा आरएसआईले क्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको र बजार केही समय बढ्न सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा अर्को कारोबार दिनका लागि यदि बजार १२६० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत भए पनि अर्को तत्कालीन प्रतिरोध १२६५ मा रहेको देखिन्छ। हाल बजारको सामान्य तत्कालीन टेवा १२५४ देखि १२५८ को क्षेत्रमा रहेको देखिन्छ।