एट्लेटिको मड्रिड ६ वर्षपछि ला लिगा च्याम्पियन
काठमाडौं, जेठ ९ : एट्लेटिको मड्रिडले ६ वर्षपछि ला लिगा उपाधि जितेको छ। शनिबर राति भएको खेलमा सुरुआतमै १ गोलले पछि परेको अवस्था उल्टाउँदै...
काठमाडौं, जेठ ९ : एट्लेटिको मड्रिडले ६ वर्षपछि ला लिगा उपाधि जितेको छ। शनिबर राति भएको खेलमा सुरुआतमै १ गोलले पछि परेको अवस्था उल्टाउँदै भालाडोलिडलाई २–१ ले पराजित गर्दै एट्लेटिको ६ वर्षपछि ला लिगा च्याम्पियन बनेको हो।
यसअघि उसले सन् २०१३–१४ मा ला लिगा उपाधि जितेको थियो। एट्लेटिको उपाधि यात्रामा लुइस सुआरेज निर्णायक बने। उनले पछिल्ला दुई खेलमा निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाए। उनले यो सिजन ला लिगामा २१ गोल गरेका छन्।
१८औं मिनेटमा ओस्कार प्लान्कोले गोल गर्दै टिमलाई अग्रता दिलाए। ५७औं मिनेटमा एंगल कोरेयाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६७औं मिनेटमा सुआरेजले गोल गर्दै टिमलाई २–१ अग्रता दिलाए।
हारसँगै भालाडोलिड भने रेलिगेसनमा परेको छ। भालाडोलिसँगै हुएस्का र इबार पनि रेलिगसनमा परेका छन्।
यता, रियल मड्रिडले भिल्लारियललाई २–१ ले हरायो। उसले पनि एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। उसका लागि करिम बेन्जिमा र लुका मोड्रिचले गोल गरे भने भिल्लारियलका एरेमी पिनोले गोल गरेका थिए। यो सिजन उपाधिबिहीन बनेको रियलले दोस्रो स्थानमा रहेर लिग सकायो।
यस्तै अन्य खेलमा बार्सिलोनले इबारलाई १–० ले हरायो भने रियल सोसिडाडले पनि ओसासुनालाई १–० ले नै हरायो। रियल बेटिसले सेल्टाभिगोलाई ३–२ले हरायो । जितपछि सोसिडाड र बेटिस युरोपा लिगका लागि छनोट भएका छन्।











