ओली नेपाललाई सिक्किमीकरणको दिशामा लान उद्यत : ६ युवा संगठन
काठमाडौं, जेठ ८ : विभिन्न दलका ६ युवा संगठनले प्रधानमन्त्री केपी ओली नेपाललाई सिक्किमीकरणको दिशामा लान उद्यत रहेको बताएका छन्। नेपाल तरुण दलका अध्यक्ष...
काठमाडौं, जेठ ८ : विभिन्न दलका ६ युवा संगठनले प्रधानमन्त्री केपी ओली नेपाललाई सिक्किमीकरणको दिशामा लान उद्यत रहेको बताएका छन्।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, योङ कम्युनिष्ट नेपाल (वाइसिएल) अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही समाजवादी युवा संघ नेपालका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अलिनकिशोर घिमिरे र विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाले आज (शनिबार) संयुक्त विज्ञप्ति जारी गर्दै जेठ ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको घटनाले आम नेपाली युवाहरुको ध्यानाकर्षण भएको जनाएका छन्।
‘ओली वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमिकरणको दिशामा लान उद्यत छन् । विदेशी शक्तिकेन्द्रहरुको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘दुःखको कुरा, देशको सर्वोच्च सम्मानीय संस्थाले समेत ओलीका असवैधानिक कदमलाई रबरस्टाम्का रुपमा मतियारी दिदैँ आएको छ।’
‘प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नै नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध पेस गर्नु र राष्ट्रपति विद्यादेवी भण्डारीले सोही धाराअनुसार प्रधानमन्त्री नियुक्ति प्रायोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आव्हान गर्नु आफैमा असंवैधानिक कदम हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अझ कोभिड संकटको यो घडीमा केवल २१ घन्टाको मात्र समय दिनु आफैमा दुराशायपूर्ण थियो।’
राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेस गरेलगत्तै ओलीले आफ्नो पक्षमा बहुमत रहेको फर्जी दाबी पेस गरेको उनीहरूको दाबी छ। ‘देशलाई संवैधानिक संकटको दिशामा धकेल्दै राष्ट्रपतिले प्रधानमन्त्रीका लागि गरिएको दाबी स्वीकार गर्न नसक्ने जानकारी दिइन् र प्रधानमन्त्री ओलीलाई संसद विघटनको सिफारिस गर्ने मार्ग प्रसस्त गरिदिइन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जेठ ७ गते मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गर्ने सिफारिस राष्ट्रपतिसमक्ष सिफारिस भयो र राष्ट्रपति कार्यालयबाट तत्काल कार्यान्वयन भयो।’
संघिय लोकतान्त्रीक गणतन्त्र प्रति सुरुदेखि नै पुर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडी बढाएको आरोप उनीहरूले आरोप लगाएका छन् । उनीहरूका अनुसार यो विघटन पुस ५ को असफल संसद विघटनको निरन्तरता मात्र हो।
संसद विघटनमार्फत संवैधानिक संकट निम्त्याउने ओलीको यस कदमको घोर भत्सर्ना गर्दै उनीहरूले सबै मिलेर कोभिड-१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको निन्दा गरेका छन्। साथै राजनीतिक दलहरुलाई पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति भण्डारीलाई यथाशीघ्र कानुनी कठघरामा उभ्याउन उनीहरूले माग गरे।
‘यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दर्छौ,’ विज्ञप्तिमा उल्लेख छ, ‘ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न हामी आम नेपाली युवाहरुलाई आव्हान गर्न चाहन्छौं । युवाहरुले इतिहासको कालखण्डमा हरेका तानशाहहरुलाई घुडा टेकाएका छन्, युवाहरुको संयुक्त संघर्ष मार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनैतिक स्थायित्वको अवस्थामा पुर्याउन हामीहरु सक्षम हुने छौं भन्ने सुनिश्चितता हामी आम जनसमुदायलाई व्यक्त गर्न चाहन्छौं ।’




-1790252522.jpg)




-1790252522.jpg)

