राष्ट्रपतिको कदम नेपाली जनतामाथिको घातसँगै अक्षम्य अपराध पनि : तरुण दल
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई नेपाली जनतामाथिको...
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई नेपाली जनतामाथिको घात मात्र नभएर अक्षम्य अपराधसमेत भएको प्रतिक्रिया दिएको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज (शनिबार) उक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल र नेपाली जनताको सात दशक लामो निरन्तरको संघर्षबाट प्राप्त व्यवस्था र यस व्यवस्थाले अंगीकार गरेको लोकतान्त्रिक विधि र पद्धतिलाई खलल बनाउँदै नेपालको संविधान वि.सं. २०७२ ले निर्दिष्ट प्रकृयाविपरीत मनोमानी तरिकाले असंवैधानिक ढंगबाट यो संविधानको मर्म र भावना प्रतिकूल राष्ट्रपतिद्वारा सिंगो नेपाली जनता र व्यवस्था माथि नै घात भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको लोकतान्त्रिक संविधानविरुद्धको एक अक्षम्य अपराध हो।’ देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अँध्यारोमा संविधानको चीरहरण गर्ने गरी भएको नाङ्गो प्रहारको भत्र्सना गर्ने शब्द नै नभएको अध्यक्ष बस्नेतको भनाइ छ।
यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनतासामु घुँडा टेक्ने दिन धेरै टाढा नभएको विश्वास उनले व्यक्त गरेका छन् । ‘कोरोनाको कहरले आहत बनेको देश र जनताको स्वास्थ्य उपचारमा राष्ट्रिय एकता कायम राख्दै ध्यान यसको निराकरणमा दिनुको सट्टा पटकपटकको संविधानमाथिको आक्रमण किमार्थ हाम्रा निम्ति स्वीकार्य विषय होइन,’ विज्ञप्तिमा उल्लेख छ।
सम्पूर्ण तरुण र लोकतन्त्रप्रेमीलाई यस कदमविरुद्ध एकजुट हुन उनले अनुरोध गरेका छन्।




-1790252522.jpg)




-1790252522.jpg)

