प्रधानमन्त्री र राष्ट्रपतिले अनुचित साँठगाँठ गरी प्रतिनिधिसभा भंग गरे : नेपाल

काठमाडौं, जेठ ८ : पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधिसभा भंग गरेको बताएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन्। उनको सो कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको पनि उल्लेख गरेका छन्।
नेपालले नयाँ सरकार निर्माणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १ सय ४९ सदस्यसहितको स्पष्ट बहुमत रहेको यथार्थलाई बेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग गरेको विज्ञप्तिमा भनिएको छ।
‘यो प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली जनताले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरी राख्दै राज्य सञ्चालन गर्नुपर्ने संवैधानिक र पदीय मर्यादा विपरित क्रियाकलापकै निरन्तरता हो,’ नेता नेपालले विज्ञप्तिमार्फत भनेका छन्। ओलीले संसद विघटन गर्ने, दलहरुलाई फुटाउने र संविधानमाथि आघात पर्ने अलोकतान्त्रिक कदम चाल्ने कार्य २०७७ साल बैशाखबाटै थालेको आरोप नेता नेपालले लगाए।
उनको अलोकतान्त्रिक यात्रा पुस ५ मा प्रतिनिधिसभा विघटन, फागुनमा नेकपा विभाजन हुँदै जेठ ७ को मध्यराति देशघाती र जनघाती कुकर्मका रुपमा प्रकट भएको नेता नेपालले बताएका छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको लोकतन्त्र र संविधानविरोधी कदमको निन्दा गर्दै देश, जनता र लोकतन्त्र खतरामा परिरहेको जटिल परिस्थितिमा नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, पार्टी विधान र लोकतन्त्र पक्षधर नेता, कार्यकर्ता र सदस्य शुभेच्छुकहरुलाई दृढताका साथ एकतावद्ध भइ प्रतिगमनविरुद्ध अघि बढ्न उनले आग्रह गरेका छन्।






-1790252522.jpg)




-1790252522.jpg)

