एमाले वरिष्ठ नेता नेपालसहित विपक्षी दलले भने– राष्ट्रपति भण्डारीको कदम प्रतिगामी
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी दलहरूले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगमन संज्ञा दिएका छन् ।
काठमाडौं, जेठ ८ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी दलहरूले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको प्रतिनिधिसभा विघटनको कदमलाई प्रतिगमन संज्ञा दिएका छन् ।
उक्त कदमको राजनीतिक र कानूनी दुवै मोर्चाबाट सशक्त प्रतिरोध गर्ने घोषणा पनि उनीहरूले गरेका छन् ।
शनिबार प्रकाशित विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
‘नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी आघात पु¥याएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७५ (५) बमोजिम हामीले प्रतिनिधिसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित विधिसम्मत पेश गरेको दाबीमाथि संविधानतः निर्णय गरी प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट निर्वाह गरिएन । उल्टै प्रधानमन्त्री ओलीसँगको मिलेमतोमा बदनियतपूर्ण किसिमले प्रतिनिधिसभा विघटन गरी नेपालको संवधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ । यस प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको छ ।’
धारा ७६ (३) अन्तर्गत नियुक्त भएका प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिनैपर्ने बाध्यकारी प्रावधान उल्लंघन गरेको, उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुपर्ने सिफारिस राष्ट्रपतिलाई गरिएको, राष्ट्रपतिले पनि एक दिनको मात्र समय दिएर प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुनाव गराउने मनशायबाट नभई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट प्रधानमन्त्री ओलीले चुनाव घोषणा गराएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ,’ विपक्षी दलहरूले भनेका छन्, ‘यस कदमविरुद्ध राजनीतिक र कानूनी रूपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौँ ।’





-1790252522.jpg)




-1790252522.jpg)

