ओलीले भने– मेरो सिफारिसप्रतिका टिप्पणी कृत्रिम र नाटकीय
प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ७६ (५)को सरकार निर्माण प्रक्रिया अगाडि बढाउने आफ्नो सिफारिसको बचाउ गरेका छन् ।
काठमाडौं, जेठ ७ : प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ७६ (५)को सरकार निर्माण प्रक्रिया अगाडि बढाउने आफ्नो सिफारिसको बचाउ गरेका छन् ।
आकस्मिक पत्रकार सम्मेलन गर्दै ओलीले आफूले धारा ७६ (५) अन्तर्गत्को सरकार गठनका लागि मार्गप्रशस्त गरेको दाबी गरे ।
त्यसपछि आएका टिप्पणीलाई उनले कृत्रिम, नाटकीय व्याख्या भएको बताए । यो असाध्यै नयाँ कुरा अचानक नआएको उनको दाबी छ ।
‘मैले प्रधानमन्त्रीको हैसियतमा नयाँ सरकार दिन सक्ने देखिनँ, सरकारले काम गर्न सक्ने अवस्था पनि रहेन । सरकारले सहज ढंगले काम गर्न पनि पाएन । अस्वस्थ खेलको चक्रव्युहमा राजनीति परिहने, कोभिड महामारीमा सरकार केन्द्रित हुन नपाउने, सरकारलाई अरू नै कुरामा इंगेज गरिरहने भएपछि मैले ५ पुसमा संसद् विघटन गरेको थिएँ,’ उनले भने, ‘त्यसमा अदालतको व्याख्या फरक भयो र संसद् पुनःस्थापना भयो । तर, त्यसपछि पनि अढाइ महिनासम्म अविश्वास प्रस्ताव आएन । अविश्वास प्रस्ताव राख्नोस्, सरकार परिवर्तन गर्नूस् भनेँ । तर, अविश्वासको प्रस्ताव आएन ।’
अविश्वास प्रस्ताव ल्याएर सरकार परिवर्तन गर्न प्रतिनिधिसभालाई नदिइएको आरोप उनले लगाए । ‘वैकल्पिक सरकार दिन सक्नु हुन्न भने वैकल्पिक सरकार दिनोस् न त भनेँ,’ उनले भने, ‘विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी, घिनलाग्दो चक्रव्युह देखियो । विश्वासको मत नपुगोस् भन्नका लागि दलहरूभित्रै विग्रह देखियो । २७ जना मान्छे गुटगत हिसाबले अनुपस्थित भए । दलभित्रैबाट विपक्षीसँग मिलेर सरकार ढाल्न खोज्ने प्रयासहरूलाई के भन्ने ? यस्ता प्रयासहरू कुनै पनि हिसाबले नैतिक हुन सक्छन् ?’
विश्वास प्राप्त नभएपछि संविधानको धारा ७६ (२) अनुसारको सरकार बनोस् भनेर राष्ट्रपतिले तीन दिनको समय दिएको उनले उल्लेख गरे । विपक्षीले वैकल्पिक सरकार पनि नबनाएको उनले आरोप लगाए ।
७६ (२) को सरकार नबनेपछि ७६ (३) अन्तर्गतको सरकार बनाएको उनले बताए । ह्विप उल्लंघन गरेर अनुपस्थित भई लोकतान्त्रिक प्रणालीको हुर्मत लिइएको उनले दाबी गरे ।
अर्को सरकार बनाउन मार्गप्रशस्त गर्दा षडयन्त्र कहाँ भयो भनेर उनले प्रश्न गरे । एक दिनको समय दिँदा २२ घण्टा मात्र भनिएको दाबी गरे । ‘दिनभरिमा दलहरू मिलेर जान सकिँदैन ? वैकल्पिक सरकार बनाउँदा म स्वागत गर्छु,’ उनले भने, ‘मेरो रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ मेरो दल प्रस्तुत हुनेछ । सक्नु हुन्न भने मलाई समर्थन गर्नूस् । कसले विघटन गर्न खोज्यो संसद् ? कोभिडका विरुद्ध लड्नुछ, राष्ट्रिय सरकार बनाऔँ ।’
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर सरकार बनाउन आग्रह गरेको दाबी गरे । अन्यथा आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेको उनले बताए ।
‘उपधारा ५ अन्तर्गत सरकार बनाउन मार्गप्रशस्त गर्दा यो संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुन्छ ?’ उनले भने, ‘कोही राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने कुरा गर्छन् । राष्ट्रपतिमाथिको आक्रोस किन ? यो गणतन्त्रविरुद्धको खेल हो । सरकारले जे सिफारिस ग¥यो, राष्ट्रपतिले त्यही गर्ने हो ।’
आफूले गरेको सिफारिसप्रति आफैँ जवाफदेही भएको उनले बताए ।




-1790252522.jpg)






