Kathmandu Press

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ। 
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक
फाइल फोटो

काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ। 

कांग्रेस राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको जनाएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ।’

यससम्बन्धी छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बोलाएको मुख्य सचिव पौडेलले जनाएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूरुको बैठक २०७८ जेठ ७ गते बिहान ९ बजे पार्टी सभापतिज्यूको निवास बुढानिलकण्ठमा बस्दैछ।’

राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छिन्। 

अल्पमतका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। 

प्रकाशित मिति: ०६:३२ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्