Kathmandu Press

राष्ट्रपतिद्वारा धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेकी छन् ।
राष्ट्रपतिद्वारा धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आह्वान

काठमाडौं, जेठ ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अन्तर्गत् प्रधानमन्त्रीका लागि दाबी पेश गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेकी छन् ।

त्यसका लागि उनले भोलि साँझ पाँच बजेसम्मको समय दिएकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताको हैसियतमा केपी ओलीलाई ३० वैशाखमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

‘उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८÷१÷२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८÷२÷६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन प्रधानमन्त्रीबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरिएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्