एमाले स्थायी समितिका ३ निर्णय : प्रधानमन्त्रीलाई सुझावदेखि राष्ट्रियसभा उपनिर्वाचनसम्म
निर्णय नम्बर ३ मा राष्ट्रियसभाको बिहीबार सम्पन्न उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई मत नदिने पार्टीकै जनप्रतिनिधिहरूको शैलीप्रति भर्त्सना गरिएको छ ।
काठमाडौं, जेठ ६ : सत्तारुढ एमालेको स्थायी समिति बैठकले बिहीबार तीनवटा निर्णय लिएको छ ।
त्यसमध्ये निर्णय नम्बर ३ मा राष्ट्रियसभाको बिहीबार सम्पन्न उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई मत नदिने पार्टीकै जनप्रतिनिधिहरूको शैलीप्रति भर्त्सना गरिएको छ । भनिएको छ, ‘बैठकले आज वागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ ।’
यस्तै निर्णय नम्बर २ मा कोभिड-१९ का सन्दर्भमा प्रधानमन्त्रीलाई केही सुझाव दिइएको छ । भनिएको छ, ‘अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।’
निर्णय नम्बर १ मा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिजारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।




-1790252522.jpg)






