Kathmandu Press

संसदको नियमित अधिवेशन बोलाएर बजेट ल्याउने सरकारको तयारी

संसदको नियमित अधिवेशन बोलाएर बजेट ल्याउने सरकारको तयारी

काठमाडौं, जेठ ६ : सरकारले संसदको नियमित अधिवेशन बोलाउने र नियमित बैठकमै बजेट पेस गर्ने तयारी गरेको छ।

आज (बिहीबार) प्रधामन्त्री निवास बालुवाटारमा सम्पन्न एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले संसद अधिवेशन बोलाउने र अध्यादेशबाट नभई नियमित संसद अधिवेशनबाटै बजेट ल्याउने तयारी गरेको स्पष्ट पारे।

मन्त्री ज्ञवालीले आजै बस्ने मन्त्रिपरिषद् बैठकले नियमित अधिवेशन बोलाउने निर्णय लिन सक्ने बताए । उनले अध्यादेशबाट बजेट ल्याउने सरकारको कुनै सोच नभएको उल्लेख गरे। उनले भने, ‘नियमित बैठकमै बजेट पेस हुन्छ ।’

हरेक वर्षको जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर जेठ १५ आउन नौ दिन बाँकी रहँदा पनि सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन।

प्रतिनिधिसभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिनअघि नै प्रि(बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । तर सो समयमा संसद अधिवेशन बोलाइएन ।

मन्त्री ज्ञवालीले स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउने भन्ने विषयमा कुराकानी भएको जानकारी दिए।

तीनथरी नै सरकार मिलेर थप प्रभावकारी काम गर्न संरचना बनाउने वा नयाँ कानुन आवश्यक परे पनि व्यवस्थापन गर्न सकिनेबारे छलफल भएको पनि उनले जानकारी दिए । उनले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी नभएको पनि स्पष्ट पारे। 

आज बागमती प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध लागेका जनप्रतिनिधि र केही नेताका गतिविधिलाई पार्टीले गम्भीर रूपमा लिएको पनि बताए।

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्