राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकियो, नतिजा आजै आउने
हेटौंडा, जेठ ६ : वाग्मती प्रदेशबाट रिक्त रहेकोराष्ट्रिय सभा सदस्य चयनका लागि भएको मतदान सकिएको छ।मतदानमा १ सय ५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका...
हेटौंडा, जेठ ६ : वाग्मती प्रदेशबाट रिक्त रहेकोराष्ट्रिय सभा सदस्य चयनका लागि भएको मतदान सकिएको छ।
मतदानमा १ सय ५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३३ जना गरी ३ सय ३८ जनाले मतदान गरेका छन् ।
आज (बिहीबार) दिउँसो ३ बजेसम्म हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय तहका पाँच र प्रदेशसभाका पाँचजनाले मतदान गरेनन्। मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको केही दिनअघि निधन भएको थियो भने विवेकशील साझा पार्टीका तीनजनाले मतदान बहिष्कारको घोषणा गरेका थिए।
राष्ट्रियसभा सदस्यका लागि एमालेबाट रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
आज साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ ।











