फूलखेतीमा कोरोना प्रभाव : छिट्टै व्यापार सुध्रनेमा सरस्वती आशावादी (फाेटाे फिचर)
सरस्वतीको घरवरिपरि फूलबारीमा सिजनअनुसारका थरीथरीका फूल सौन्दर्य र सुगन्ध छर्दै ढकमक्क फुलिरहेका हुन्छन्। त्यही फूल उनको घरव्यवहार चलाउन आम्दानीको दरिलो स्रोत बनेको छ।काठमाडौं, जेठ ६ : काठमाडौं इचंगुनारायण नगरपालिका–३ निवासी सरस्वती लामा फूल किसान तथा व्यापारी हुन्। उनी करिब दुई दशकदेखि फूल खेती गर्दै र बेच्दै आइरहेकी छन्।
उनी आफ्नै खेतीबाट उत्पादित फूल बेचेर वार्षिक लाखौं आम्दानी गर्छिन्। उनले उत्पादन गरेका फूल प्रायः स्वयम्भूको भगवान पाउ, असन, हनुमानढोका, पशुपतिनाथको मन्दिरलगायत स्थानमा पुर्याउने गरिन्छ।
सरस्वतीको घरवरिपरि फूलबारीमा सिजनअनुसारका थरीथरीका फूल सौन्दर्य र सुगन्ध छर्दै ढकमक्क फुलिरहेका हुन्छन्। त्यही फूल उनको घरव्यवहार चलाउन आम्दानीको दरिलो स्रोत बनेको छ।
उनी बिहानदेखि बेलुकासम्म नयाँ बिरुवा लाउने, गोडमेल गर्ने, हुर्काउने र तयार भइसकेका फूल टिप्ने, मिलाउने र बिक्री गर्ने कार्यमै व्यस्त रहन्छिन्। पछिल्लो समय भने कोरोना महामारीको दोस्रो लहर फैलिएपछि जारी निषेधाज्ञाका कारण फूलको व्यापार सुस्ताएको छ र उनको आम्दानी घटेको छ।
अहिले पनि आफ्नो दिनचर्या फूलको स्याहारसुसारमै बित्ने गरे पनि व्यापार घट्दा बिक्रीका लागि तयार भइसकेका फूल ओइलाएर स्थितिले गर्दा मिहनेत खेर जान लागेकोमा उनी चिन्तित छिन्।
निषेधाज्ञाअघिसम्म भने व्यापार निकै राम्रो हुने गरेको उनले बताइन्। ‘लकडाउनअघि दिन बिराएर फूल बेच्थें, त्यतिबेला एकपटकमा ३÷४ हजार रुपैयाँसम्म हात लाग्थ्यो,’ उनले भनिन्, अहिले त व्यापार चौपट भएको छ, मूल्य पनि घटेको छ, अलिअलि मात्र बिक्री हुन्छ, एकचोटिमा हजार÷पन्ध्र सयको पनि व्यापार हुन्न। घाटैघाटा छ।’
निषेधाज्ञामा मठमन्दिरहरूमा पूजापाठ नहुने, फूल प्रयोग हुने अन्य गतिविधि पनि ठप्प भएकाले फूल बिक्री हुन नपाएको सरस्वती बताउँछिन्। यही समयमा बेच्छु भनेर तयार पारिएका फूल बिक्री नहुँदा बोटैमा ओइलाएर जाने अवस्था सिर्जना भएको छ। तर सधैंभरि यस्तै स्थिति रहन्न भन्नेमा उनी विश्वस्त छिन्। त्यसकारण उनले फूल रोप्न छाडेकी छैनन्। अहिले लगाएका बिरुवाले पछि स्थिति सहज भएपछि राम्रो फूल दिने र आम्दानी पनि बढ्नेमा उनी आशावादी छिन्।