मौन अवधिको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी
काठमाडौं, जेठ ६ : मौन अवधिको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी...
काठमाडौं, जेठ ६ : मौन अवधिको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभा आज (बिहीबार) हुने उपनिर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भए पनि हिजो (बुधबार) एमाले उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेरै मत मागेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको हो।
निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री शिक्षामन्त्रीविरुद्ध एक उजुरीको निवेदन बुधबार प्राप्त भएको हो। उक्त उजुरीको निवेदन दर्ता भई अध्ययन भइरहेको बताइएको छ। अध्ययनपछि अन्य कार्य अघि बढ्ने आयोगको भनाइ छ।
उपनिर्वाचनका लागि जारी मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई कारबाही हुनुपर्ने माग गर्दै आयोगमा उजुरी दर्ता गराएको हो।
उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) पार्टीको अध्यक्षको हैसियतले र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उलंघन भएको छ ।’
निर्वाचन आचारसंहिता पालना गर्नु सबैको साझा कर्तव्य र स्वतन्त्र स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ।
‘आचारसंहिताविपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजय गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्तविपरीत भएको छ,’ विज्ञप्तिमा भनिएको छ।










