उपनिर्वाचनमा ९ बजेदेखि मतदान, नतिजा आजै आउने
बाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान शुरु हुन लागेको छ। यसको नतिजा आजै आउने निर्वाचन आयोगले जनाएको छ।
काठमाडौं, जेठ ६ : बाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान शुरु हुन लागेको छ। यसको नतिजा आजै आउने निर्वाचन आयोगले जनाएको छ।
आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० र बागमती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्। उपनिर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ। मतदातामध्ये प्रदेश सभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ।
मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ।
केन्द्रमा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ। यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ।
उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट डा। खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ प्रतिस्पर्धामा छन्। निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोगले जनाएको छ।
उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ। प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो।
मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम ९जुम० मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ। मतगणना साँझ ५ बजेदेखि शुरु गरिनेछ।
मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन्। मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए।
प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।
प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए। विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ। ‘क’ मा प्रदेशसभा सदस्य, ‘ख’ मा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरका प्रमुख-उपप्रमुख र ‘ग’ केन्द्रमा कोभिड–१९ सङ्क्रमित मतदाताले मत हाल्ने व्यवस्था मिलाइएको छ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुखका लागि फरक मतपत्र हुनेछ । फरक रङको मतपत्रमा चुनाव चिह्न भने एउटै राखिएको हुनेछ। मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ। (रासस)










