आज राष्ट्रिय सभा सदस्यका लागि बाग्मतीमा मतदान
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज बाग्मती प्रदेशमा मतदान हुँदै छ। उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौं, जेठ ६ : राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज बाग्मती प्रदेशमा मतदान हुँदै छ।
आज बिहान ९ बजेदेखि सुरू हुने मतदान अपराह्न ३ बजेसम्म चल्नेछ। उपनिर्वाचनका लागि तीन जना उम्मेदवार रहेका छन्।
उपनिर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी (जसपा)को तर्फबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदूर किसान पार्टीको तर्फबाट कृष्णगोपाल तामाङ प्रतिस्पर्धामा छन्।
आज हुने उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ। यसअघि कोरोना परीक्षण रिपोर्ट अनिवार्य रुपमा ल्याउन सूचना जारी गरेको थियो।
बाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने छन्। निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
बाग्मतीमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित थापा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो। उनको सांसद पद गएपछि फेरि उपनिर्वाचन हुन लागेको हो।











