ओलीले मागे बादललाई भोट
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अपिल जारी गर्दै वागमती प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादलका लागि भोट मागेका छन् ।
काठमाडौं, जेठ ५ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अपिल जारी गर्दै वागमती प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादलका लागि भोट मागेका छन् ।
अपिलमा ओलीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउनेजस्ता विषय एमालेभित्र कल्पनाबाहिरको भएको दाबी गरेका छन् । ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि स्वीकार्य या क्षम्य हुनै सक्दैन,’ अपिलमा भनिएको छ ।
बादलविरुद्ध एमालेनिकट डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन् । उनलाई एमालेकै माधवकुमार नेपाल–झलनाथ खनाल समूह, कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दिन लगाएका हुन् ।
ओलीले आफ्नो अपिलमा बादललाई कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेताका रूपमा चित्रित गरेका छन् । मन्त्री बादल २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुनःस्थापित गरिदिएपछि माओवादी त्यागेर एमाले प्रवेश गरेका नेता हुन् ।











