अब काठमाडौंका भीडभाड हुने ठाउँमा कोरोना परीक्षण
काठमाडौं, जेठ ५ : हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ। कोभिडको...
काठमाडौं, जेठ ५ : हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ।
कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो। यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ। महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ।’
उनका अनुसार महानगरको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ।
कामपाले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।
महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६ सय जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ। महानगरकी ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ। ‘कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ,’ कुँइकेलले भनिन्।
परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ।
उक्त सेवा कामपाको २३ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । हाल कामपामा ११ हजार ६३१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्। (रासस)











