जसपामा लुकाछिपी, संसद सचिवालयमा उपेन्द्र यादवको पत्र- कोही दलको नेता चुनिएको छैन
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नातर्फबाट पत्र पठाउँदै संघीय संसद्मा आफ्नो पार्टीको कोही संसदीय दलको नेता चयन नभएको बताएका छन् ।
काठमाडौं, जेठ ४ : जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नातर्फबाट पत्र पठाउँदै संघीय संसद्मा आफ्नो पार्टीको कोही संसदीय दलको नेता चयन नभएको बताएका छन् ।
पार्टी विधानअनुसार संसदीय दलको विधान हालसम्म नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट पारित पनि नभएको अध्यक्ष यादवले संसद सचिवालयमा पठाएको पत्रमा उल्लेख छ ।
‘हाम्रो पार्टीको संघीय संसदीय दलको बैठक बसी नेता चयन भएको भनी केही सञ्चार माध्यममा भ्रमपूर्ण प्रचार भएकाले संसदीय दलको विधानसमेत पारित नभएको अवस्थामा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हुन अनुरोध छ,’ यादवको पत्रमा भनिएको छ ।
यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरको मात्रै हस्ताक्षर रहेको पत्रमार्फत संसदीय दलको नेता राजेन्द्र महतो निर्वाचित भएको जानकारी संसद सचिवालयमा दिइएको थियो ।











