Kathmandu Press

एकताको मौसम- एमालेपछि जसपा, तर कति टिकाउ?

राष्ट्रिय राजनीतिमा पार्टीहरू भित्र एकताको कोर्स सुरु भएको छ। एमालेपछि जसपा यस कोर्समा देखिएको छ। फेरि पनि अहिले चलिरहेको एकता अभ्यास कति टिकाउ हुन्छ भन्ने प्रश्न अहम् बनेको छ।
एकताको मौसम- एमालेपछि जसपा, तर कति टिकाउ?

काठमाडौं, जेठ ४ : ३१ वैशाखमा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बन्यो। तस्बिरमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठक कक्षमा प्रवेश गरिरहेको देखिन्छ। अनि, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य रघुजी पन्तले उनलाई आफ्नो आशनबाट उठेर नमस्कार गर्दै गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले ओलीलाई ‘धनुष्टंकार’ गरेको भन्दै भुसाल र पन्तको हुर्मत लिए।

सामाजिक सञ्जालमार्फत नै उपमहासचिव भुसालले त्यस प्रकरणमा स्पष्टीकरण दिएका छन्, ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ। समाजमा जान्ने बुझ्ने भनिएकाहरू पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरू कोही नहुनु संयोग मात्र हो वा होइन थाहा भएन।’

त्यसअघि पनि उपाध्यक्ष डा. भीम रावल र उपमहासचिव भुसाललाई लक्षित गरिएको एक तस्बिर समाजिक सञ्जालमा भाइरल बनाइएको थियो। त्यसमा पनि नेताद्वयले ओलीलाई ‘धनुष्टंकार’ शैलीमा अभिवादन गर्दै गरेको भाव देखाउन खोजिएको थियो।

३० वैशाखयता सत्तारुढ एमालेमा सुरु भएको एकताको कसरतपछिका परिदृष्य हुन् यी। पार्टी अध्यक्ष ओलीप्रति कटु आलोचक मानिँदै आएका डा. रावल, भुसाल र पन्तमाथि साँधिएको फोटोग्राफीको निशाना संयोग मात्र नहुन सक्छ। पार्टीभित्र सम्मानजनक व्यवहारको अपेक्षा गरिरहेको छ, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको यो समूह। र, ओली समूहले कस्तो व्यवहार गर्छ भनेर सबैको विस्फारित नजर एमालेतर्फ नै सोझिएको छ।

एमालेलाई एकताको मार्गमा बढाउन गठित कार्यदलले जम्मा तीन दिनको समय पाएको छ। पहिलो दिन कार्यदलको बैठक बस्न सकेन, अर्को दिन पनि आधा घर्किसक्दा मात्र बैठक बस्न लागेको सार्वजनिक भयो। फेरि पनि माथिकै जस्ता घटना दोहोरिने जोखिम कायम छ। र, राजिनामा खल्तीमा बोकेर बसेको नेपाल-खनाल समूह पुरानै कोर्समा फर्किन बाध्य हुने आकलन पनि गर्न थालिएको छ।

लगभग अलग पार्टी निर्माणको बाटो तय गरिसकेको यो समूहले एमालेको एकता जोगाउनकै लागि ‘यू-टर्न’ लिएको थियो। त्यसको अर्को कारण कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूहसँग राखेको शर्त पूरा नहुनु पनि थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीविरुद्ध वैकल्पिक गठबन्धन तयार हुँदै गर्दा यो समूहले त्यसका लागि दुईवटा शर्त अगाडि सारेको थियो। पहिलो- वैकल्पिक गठबन्धन निर्माणलाई सहज बनाउन पदबाट राजिनामा गर्ने आफ्ना सांसदलाई उपचुनाव र आगामी आम निर्वाचनमा
विजयी गराउन कांग्रेस र माओवादी केन्द्रको सहयोगको अपेक्षा गरेको थियो। र, दोस्रो- राजिनामा दिएका सांसदहरूमध्ये केहीलाई नयाँ सरकारमा मन्त्री बनाइनुपर्ने शर्त थियो।

नेपाल-खनाल समूहमा २० सांसद प्रत्यक्ष निर्वाचित थिए। त्यति धेरै सांसदलाई पुननिर्वाचित गराउन कांग्रेस र माओवादी केन्द्रले ठाउँ छाडिदिँदा पार्टीभित्रै विद्रोहको अवस्था आउन सक्थ्यो। र, सांसद नरहेकाहरूको ठूलो संख्या मन्त्रिमण्डलमा सामेल गराउँदा नयाँ सरकार आलोचनाबाट टाढा रहन सक्ने थिएन। त्यसैले दुवै शर्तमा मञ्जुरी नदिने बाध्यतामा थिए, कांग्रेस र माओवादी केन्द्र। त्यसैले हो, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले बिनाशर्त गठबन्धनमा सहभागी हुन नेपाल-खनाल समूहलाई आग्रह गरेको पनि।

अहिले नेपाल-खनाल समूहका कतिपय नेताले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफूहरूले बलिदान दिन नसकेको बताउन थालेका छन्। तर, त्यो देउवालाई प्रधानमन्त्री बनाउने कोर्स थिएन, ओलीलाई सत्ताबाट बाहिरिन बाध्य तुल्याउने उद्देश्यले तीन दलले गठबन्धन निर्माण गर्न खोजेका थिए। त्यस प्रयत्नमा असफलता हात लाग्दा एमाले अध्यक्ष ओली पुनः प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने।

प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डल दोहोर्‍याएका छन्, नेपाल-खनाल समूहलाई समेटेका छैनन्। न त २ जेठ ०७५ को पार्टी संरचनाबाट अगाडि बढ्ने प्रयास सफल भएको छ, न २८ फागुन ०७७ यता ओली समूहले गरेका एकलौटी निर्णयहरू खारेज भएका छन्। त्यसैले हुन सक्छ, प्रधानमन्त्री कार्यालयमार्फत बाहिरिने तस्बिरहरूले नेपाल-खनाल समूह ‘धनुष्टंकार’ युगमा प्रवेश गरेको आरोपित गरिरहेको पनि। एमालेको ओली पक्ष नेपाल-खनाल समूहलाई सकेसम्म झुकाउने रणनीतिमा छैन भन्ने शंका उत्पन्न भएको पाइन्छ।

नेपाल-खनाल समूहसँग निकट एक एमाले केन्द्रीय सदस्यको भनाइमा पार्टी एकताको कोर्समा अगाडि बढ्दा एमाले बलियो बन्यो, वरिष्ठ नेताद्वय नेपाल र खनाल कमजोर बने। उनका अनुसार २ जेठ ०७५ मा फर्किँदा संगठनात्मक हिसाबमा यो समूह बलियो थियो। तर, त्यहाँ नपुग्दा आम कार्यकर्ताको मनस्थिति र मनोबल खस्किएको छ। र, अध्यक्ष ओलीले नै लतारेर अगाडि बढ्ने रहेछन् भन्ने मनोविज्ञान बनेको छ, एमाले वृत्तभित्र। अध्यक्ष ओलीले फेरि पनि आफ्नै गुटका नेता-कार्यकर्तालाई मात्र अवसर दिने र नेपाल-खनाल समूहलाई अझ पेलेर अगाडि बढ्ने मनोविज्ञान झाँगिएको छ, पार्टी वृत्तमा। ‘भविष्यमा चुनावको टिकट वितरणमा पनि त्यही परिस्थिति आउन सक्छ भन्ने झस्को पसेको छ,’ उनी भन्छन्।

एमालेको एकता प्रयास कसरी अगाडि बढ्छ भन्ने अन्योल कायम रहँदा राष्ट्रिय राजनीतिको कोर्स भने मोडिएको छ। संयोगवस, संघीय संसद्मा चौथो ठूलो दल जसपाभित्र पनि एकताको प्रयास अगाडि बढेको देखिन्छ। प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको लिनुपर्ने समय २५ दिन बाँकी रहँदा र सत्तारुढ एमालेमा एकताको कसरत जारी रहँदा जसपाका दोस्रो र तेस्रो वरियताका नेताहरू पार्टी एकताका पक्षमा घनिभूत छलफलमा छन्। र, त्यसको परिणामस्वरूप अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त वक्तव्य मंगलबार अपराह्न आएको छ।

र, संयुक्त वक्तव्यमा अध्यक्षद्वयले आफ्नै पार्टीको नेतृत्वमा मात्र सरकारमा जाने वकालत गरेका छन्। अर्थात्, प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी गठबन्धनमा सरकारको नेतृत्वमा अर्को दाबी थपिएको छ, जसपाको। र, त्यसैलाई पार्टी एकताको सूत्र बनाएका छन्, अध्यक्षद्वय ठाकुर र यादवले। ‘एकताको गृहकार्य जारी छ,’ संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकटस्थ जसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डे भन्छन्।

के चाहीँ सत्य हो भने अब विश्वासको मत लिँदा प्रधानमन्त्री ओलीले जसपाको साथ नपाउने निश्चित भएको छ। र, उनी फेरि पदच्युत हुने सम्भावना बढेको छ।

यही बेला माओवादीका समूहहरूबीच एकताको प्रसंग पनि युवा पुस्ताले चलाएका छन्। तर, त्यो तत्काल सम्भव नदेखिएको पूर्वमाओवादीसमेत रहेका पाण्डे बताउँछन्। ‘यदि प्रचण्ड र माओवादी साथीहरू कम्युनिस्ट र माओवादी ब्रान्ड छोडेर अहिलेको समयअनुसार समाजवादी केन्द्र बनाउने अभियानमा तयार हुनुहुन्छ भने सहकार्य-चुनावी मोर्चा वा एकता नै आवश्यक पर्दा सम्भव छ,’ पाण्डे भन्छन्, ‘तर, कम्युनिस्ट र माओवादी ब्रान्डसहितको एकता अब समय सान्दर्भिक पनि छैन। र, त्यो समयको आवश्यकता पनि होइन। त्यसैले सम्भव छैन।’

राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ बहुदलीय व्यवस्थामा पार्टीहरू एकजुट रहने कुरालाई सकारात्मक मान्छन्। तर, त्यो एकता भित्री मनदेखि नै भइरहेको छ कि छैन भनेर नियाल्नुपर्ने उनको मत छ। ‘बहुदलीय व्यवस्थामा दलहरू बलियो हुनैपर्छ। हरेक दलमा मनमुटाव हुन्छ, त्यसमा एकता हुनु राम्रै कुरा हो,’ डा. लाभ भन्छन्, ‘तर यहाँ ठूलो ‘तर’ छ। त्यो के भने यो एकता कति टिकाउ रहन्छ? एकता दिलैदेखि भइरहेको छ कि छैन? हरेक पार्टीमा सैद्धान्तिक झगडा कहीँ पनि देखिएन, न जसपामा, न त एमालेमा। सिद्धान्त एउटै छ। जे कारणले विग्रह सुरु भयो, त्यो विग्रहको मनोवृत्ति समाप्त भयो कि भएन?’

पुरानै मनोवृत्ति लिएर हुने एकता धेरै टिकाउ नहुने उनी बताउँछन्। ‘हरेक पार्टीको कथा एउटै छ, टालटुल पार्ने काम मात्र भएको छ,’ डा. लाभ भन्छन्, ‘यो सबै एकतालाई जनताले नजिकबाट र राम्रोसँग नियालिरहेका छन्। मन नमिलेको कुरा जनताले राम्ररी बुझेका छन्। जनतामा निराशा देखिन्छ। कार्यकर्ताबाहेक आम जनता अन्योलमा पनि छन्। त्यसको असर निर्वाचनमा पक्कै देखिने छ।’

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्