विदेशबाट स्वास्थ्य सामग्री ढुवानी गर्दा सहुलियत पाइने
काठमाडौं, जेठ ४ : विदेशबाट स्वास्थ्य सामग्री ढुवानी गर्दा सहुलियत पाइने भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीचको छलफलले विदेशमा...
काठमाडौं, जेठ ४ : विदेशबाट स्वास्थ्य सामग्री ढुवानी गर्दा सहुलियत पाइने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीचको छलफलले विदेशमा रहेका नेपालीले सहयोग गरेको र निजी क्षेत्रले खरिद गरी ल्याउन लागेको सामग्री ढुवानीमा सहुलियत दिने निष्कर्ष निकालेको हो। यसको समन्वयका लागि आविस्कार केन्द्रलाई जिम्मेवारी दिइएको छ।
उद्योग वाणिज्य, तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको बैठकमा मुलुकले झेलिरहेको अक्सिजन अभावको समस्या समाधानबारे पनि छलफल भएको थियो।
बैठकमा नेपाल आयल निगमका अधिकारीहरुले स्वास्थ्य सामग्री ढुवानीको लागि जाने नेपाल एयरलाइन्सको जहाजका लागि आवश्यक इन्धन निःशुल्क गर्ने र ढुवानी भाडामा पनि सहुलियत दिने प्रतिबद्धता जनाएको बताइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरेर सामान ल्याउन लागेका निजी क्षेत्रलाई पनि नेपाल एयरलाइन्सको जहाज पठाएर सहयोग गर्ने समझदारी भएको जनाइएको छ। तर ढुवानी गर्ने सामानको तौल भने ३० टन देखि ४० टनसम्म हुनुपर्नेछ।
छलफलले चीनको कुन्मिङ, बेइजिङ, गोन्जाउ तथा अन्य मुलुकमा कतार, जापान, अस्ट्रेलिया र अमेरिका कुनै पनि ठाउँमा तोकिएको परिणाममा सामान जम्मा भए तुरुन्त नेपाल एयरलाइन्सको विमान पठाएर ढुवानी गर्नेबारे मन्त्रालयले सरकारका अन्य निकायसँग समन्वय गर्ने समझदारी भएको बताइएको छ।










